लम्पी रोगबारे मर्ने पशुको संख्या ५० हजार नाघेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो दिएको हो । मुख्यसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबारे चासो राख्दै खोप कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
संघीय सरकार, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा छिटो भन्दा छिटो सेवा दिन सक्ने कार्यायोजना बनाउन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भनेको हो । ‘३ दिनभित्र कार्ययोजना बनाई लम्पीविरुद्धको खोप व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कार्यान्वयन गर्न र गराउन निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।
लम्पी स्किनबाट साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ । ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन् । त्यसमध्ये ५० हजारभन्दा पशु मरेका छन् । २ लाख ४८ हजार ३ सय ५ पशु अझै सक्रिय संक्रमणमै रहेको विभागले जनाएको छ ।