पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता लिएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर लामिछानेले पुनः नागरिता लिएको जानकारी दिए ।
लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो । लामिछाने अमेरिका गएपछि नेपाली नागरिकता ल्याग गरेका थिए । नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ ।
अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले २०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।
कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।
लामिछानेले पुरानै नागरिकता देखाएर गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोले । चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बने । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो । फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
लामिछानेले नागरिकता लिएपछि रास्वपाले वैठक राखेको छ । स्रोतका अनुसार उक्त वैठकले लामिछानेलाई पुनः अध्यक्ष बनाउनेछ ।
