लामो संघर्षपछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिल समेत गरे । आफुले देशमा ठुलो कम्युनिष्ट शक्ति निर्माण गरि देशलाई सम्वृद्वीतर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरेतापनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनितीले सपना चकनाचुर भएको प्रचण्डले उदघोष गरे ।

अब फेरी जनताको घरदैलोमा माओवादी केन्द्र आफना एजेण्डा र उपलब्धीसहित जानुपर्ने उनले बताए । सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने संकेत समेत गरेका छन् । नेकपा माओवादी ताराखोलाले आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ्य हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए । ‘माधवजीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,’ प्रचण्डले भने, ‘डाक्टरले केहीदिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केहीदिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।’

सो अवसरमा प्रचण्डले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्याउनुपर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टीले नयाँ तरिकाले अगाडी बढ्ने बताए । उनले अहिलेको ५ दलिय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामी केन्द्रमा एकता अथवा गठबन्धन कायम राख्ने विषयमा छलफल चलाइरहेका छौं,’ उनले भने– ‘तपाईंहरुले पनि अन्य पार्टीका साथीहरुसँग छलफल चलाएर वातावरण बनाउनुहोस् ।’ भर्चुअल भेलामा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *