लोक-संस्कृतिका अभियन्ता तुलसीराम

Share this post :

Facebook
Twitter
WhatsApp

लोक संस्कृतिमा पीएचडी गरेका तुलसीराम खनालले ११० जातजातिको अध्ययन र ३७ वटा अनुसन्धान गरेका छन् ।

हरेक जातजातिको चाडपर्व नजिकिएपछि स्याङ्जाका तलसीराम खनाल (प्रभास)को बास कहिल्यै घरमा हुँदैन् । हातमा क्यामरा र डायरी बोकेर उनी ती जातिको परम्परा खोज्न गाउँ–गाउँ कुुदिहाल्छन् । जसले गर्दा उनलाई लोकसंस्कृतिको अभियान्ताकोरुपमा चिनाएको छ ।

भीरकोट नगरपालिका–८ का ४८ बर्षिय तुलसीराम विगत डेढ दशकदेखि लोक सांस्कृतिक अनुसन्धानमा कृयाशिल छन् । प्राध्यापनसमेत गरेका उनले नेपालको विशेषगरी पश्चिम क्षेत्रका लोपोन्मुख लोक संस्कृतिको अनुसन्धान गरेका हुन् । तुलसीराम अहिले गण्डकी प्रदेशको प्रत्येक जिल्लाको लोकसंस्कृतिको अनुसन्धानमा व्यस्त देखिन्छन् । स्थानीय तहको स्थानीय पाठ्यक्रमसमेत निर्माण गर्दै आएको उनी बताउँछन् ।

विभिन्न जातजातिको रहनसहन, भेषभुषा, नाँचगान, धर्म, संस्कार जीवन पद्धति आदिको अनुसन्धान गरि जातीय श्रब्यदृश्य साँस्कृतिक संग्रहालयको स्थापना गर्ने अभियानमा आफू रहेको उनले बताए । गुरुङ समुदायले मनाउने ल्होसार, उनीहरुको नाच्ने झोरा, घाटु, सोरठी, सालैजो, झ्याउरे, मगर जातिको माघेसक्रान्ती पर्व, उनीहरुको सोरठी, कौरा, कुसुन्डे भाका, क्षेत्रीका खाँडो जगाउने संस्कृति, ब्राह्रमणका भजन, कृतन तथा सोह्र संस्कार, लगायत हरेक जातजातिका संस्कार र संस्कृतिको अनुसन्धान गरिसकेको उनले बताए ।

यस प्रदेशभित्र बस्ने सबै जातजातिका फरक–फरक संस्कृतिको अध्ययन गरि श्रब्यदृश्यका माध्ययमबाट सबै सामग्री संकलन गरिसकिएको उनको भनाई छ । अहिलेसम्म सुन्दै नसुनेका नौला गीत र भाकासमेत अनुसन्धानको क्रममा फेला पर्ने गरेको उनी बताउँछन् ।

उदाहरणको लागि स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र अनुसन्धान गर्दा खुड्का गीत, कुसुन्डे भाका, मलम भजन लगायत यस्ता कैयौं लोपोन्मुख गीत फेला परे । ‘ज्यमिरे गाउँको झोरा, काल्खु गाउँको सोरठी नेपालकै नमूना गीत हुन्’ उनले भने, ‘यति राम्रो संस्कृतिको खानी भएर पनि यी गाउँ बत्तिमुनिको अँध्यारोमा छन् ।’ यी सबै संस्कृतिका माध्यमबाट गाउँमा साँस्कृतिक पर्यटनको अवधारणा ल्याउन आवश्यक रहेको उनको ठहर छ ।

खनाल सानैबाट लोकगीतमा झुम्न मन पराउथे । संगीतप्रतिको रस यसरी बस्यो कि तुलसीरामले आफ्नो विद्यावारिधि (पीएचडी) लोकसंस्कृतिमा गरे । स्याङ्जा क्षेत्रमा मात्र सुनिने भाका उनले अध्ययन गरे । विस. २०४९ सालमा एसएलसी दिएपछि उनी अध्ययनकै शिलशिलामा व्यस्त बने । यसबीच उनको जीवनबाट संगीतको मोह भंग भएको थियो । तर, २०६० सालमा स्नातकोत्तरको थेसिसका लागि विषय रोजाइले तुलसीलाई आफ्नो रुचिमा फर्कायो ।

खनालले ११० जातजातिको अध्ययन र ३७ वटा अनुसन्धान गरेका छन् । लोक संस्कृति संरक्षकको स्याङ्जा जिल्ला संयोजकसमेत बनेका उनी हाल गण्डकी प्रज्ञा प्रतिष्ठानमा अनुसन्धान विज्ञका रूपमा कार्यरत छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै लोकसंस्कृतिबारे उनले प्रतिनिधित्व गरेका छन् । उनको यस योगदानका लागि विभिन्न संस्थाले सम्मानसमेत गरेका छन् ।

प्रवासले आफू संलग्न “साभ नेपाल नामक” संस्थामार्फत यस्ता अनुसन्धानका काम गर्छन् । नेपालका सबै खाले लोपोन्मुख संस्कृतिको अनुसन्धान गरि एउटा साँस्कृतिक अध्ययन केन्द्रको आवश्यक रहेको उनले बताए ।

स्याङ्जा र पर्वतको सेरोफेरोमा गाइने गल्लै लाउरे गीत प्रथम र दोस्रो विश्वयुद्धदेखि गाउन शुरू भएको उनी सुनाउँछन् । त्यस भेगबाट विशेषत भर्ती हुन जाने चलन थियो । भर्तीमा जनजाति समुदायले प्राथमिकता पाउँथे । तर, गल्लै लाउरेका गीत यी बाहेकका समुदायमा प्रचलनमा थियो । उनी आफैँ यसमा केही विवाद रहेको सुनाउँछन् ।

‘नेपाललाई संसारमा केही कुरा चिनाउने भनेको कि प्रकृतिले हो, कि संस्कृतिले हो’ उनले भने, ‘यहाँको संस्कृतिमा जुन जातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता छ । नेपालमा संस्कृतिको क्षेत्रमा राम्रो अनुसन्धान भएको छैन । मलाई यही कुराले यो क्षेत्रमा आकर्षित गरेको हो ।’ उनले संस्कृतिको पुस्ता हस्तान्तरण हुनुपर्ने बताए । नयाँ पुस्ता संस्कृतिसँग विमुख हुँदै गइरहेको उनी बताउँछन् ।

‘हामीले नयाँ पुस्तामा पनि हाम्रो संस्कृति चिनाउनुपर्छ’ प्रभास थप्छन्, ‘परम्परा चिनाउनुपर्छ । हाम्रो ठाउँ चिनाउनुपर्छ । किताबमा हामीले त्यस स्थानका पर्यटकीय स्थान, मठमन्दिर, जडिबुटी र संस्कृति पढाउँछौँ । शिक्षा पहिलो प्राथमिकता हो । सँगै पढाइमार्फत संस्कृति पनि बचाउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *