ढ्क्कमक फुलेका लालिगुराँस र आँखैमा ठोकिने हिमाल ल्वाङ गाउँबाट यतिबेला रोमाञ्चक देखिन्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङको चियाबारीको मम्मुख मै माछापुच्छ्रे देखिन्छ । चियाबारीबाट देखिएको माछापुच्छ्रे र अन्नपूर्णसँगै ढक्मक्क फुलेको लालीगुराँसले त झन् जोकोहीलाई लालायित बनाएको हुन्छ ।

चियाबारी पुगेपछि लालीगुराँस, अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न पाइने भएकाले पनि पोखरा आएका पर्यटक यहाँ नपुग्ने भन्ने हुँदैन् । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ । यस गाउँको हरेक ऋतुमा घुम्न मिल्ने विशेषता छ ।

पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ । मर्दीखोलाको किनारैकिनार, भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ । ल्वाङ र घलेल वारी पारी पर्ने छुट्टाछुट्टै गाउँ भए पनि ‘ल्वाङ घलेल’ एउटै नामले परिचित छ ।

पछिल्लोसमय पर्यटकीय गन्तव्यकोरुपमा स्थाष्ति ल्वाङ होमस्टे, चियाबारीसँगै देखिने हिमश्रृंखला अनि लालिगुराँसले पर्यटकलाई तान्ने गरेको छ । एक पटक पुगेका पर्यटक पनि यहाँ पुग्ने गरेका छन् । पोखराबाट नजिकै रहेको यो पर्यटकीय गन्तव्य हो । यहाँ गुरुङ वस्ती छ । ढुुँगाले कुदेका बाटो, आँगन र घरका छानाले मनै लोभ्याउँछ । यहाँका घरमा पुराना वस्तुकला झल्काउने झ्यालढोका देख्न पाइन्छ ।

गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकको मन तान्ने गर्छ । सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । स्थानीय मन्जु गुरुङका अनुसार यहाँ आन्तरिक पर्यटक नै बढी आउने गर्छन् । फराकिलो डाँडो, कलकल बग्ने पानी, जताततै चियाका बगान, फाँट, यहाँबाट देखिने हिमश्रृङखला गन्तव्यका आकर्षण हुन् ।

समुद्री सतहदेखि एक हजार ४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुछ्रे अन्नपूर्ण लगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देश–विदेशबाट अध्ययनको लागि ल्वाङ आउने गरेको गुरुङ बताउँछिन् । ल्वाङमा शुक्रबार र विदाको समयमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ ।


