‘वाईसीएलमा उमेरहद कायम गरेर निर्वाचनमा होमिए’

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय राजनीतिमा युवापुस्ता आउनुपर्ने माग बढीरहेको छ । पार्टी नेतृत्वले ‘नेतृत्वमा’ युवा ल्याउनुपर्नेमा जोड दिएको छ । भाषणमा युवालाई केन्द्रित गरिन्छ । तर, कार्यान्वयनमा युवालाई नेतृत्व दिन पार्टी पंक्ति नै चाहादैनन् । अग्रजको सम्मान र मूल्यांकन भन्दै नेतृत्वमा उही पुराना अनुहार पटकपटक दोहो¥याइन्छ । युवाको नाममा पार्टी नेतृत्व तहमा ६५ वर्ष कटेका मात्र छन् ।
तर, नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएलले भने ‘उमेरहद’ कायम गरेको छ । युवा नै परिवर्तनको सम्वाहक रहेको बताउँदै युवाहरुको संगठनमा युवापुस्ता नै हुनुपर्ने भन्दै ४० वर्षको उमेरहद कायम गरिएको हो । पुराना अनुहारले सधै नेतृत्व ओगट्न नहुने वाईसीएलको धारण छ । वाईसीएलले १६ देखी ४० वर्ष उमेर समूहलाई युवाको रुपमा लिएको छ । १६ वर्षदेखी वाईसीएलमा आवद्ध भएका युवाले ४० वर्ष उमेर पुगेपछि सदस्यता लिन पाउदैनन् । उमेरहद कायम गर्दै वाईसीएलका केन्द्रीय अध्यक्ष सुमन देवकोटा अध्यक्ष पदबाट बाहिरीए । उमेरले ४० वर्ष लागेका देवकोटाले नेतृत्व नयाँ पूस्तालाई हस्तान्तरण गरि आफू अलग्गिएका हुन् ।
‘उमेरहद कायम गर्ने भन्ने अनि आफै पद ओगटिरहने ?’ उनले प्रश्न गरे, ‘सुरुवात हामीवाटै गर्नुपर्छ । ४० वर्ष पुगेपछि अव हामीले पार्टीको राजनीति गर्ने हो । जसले गर्दा नया“ अनुहार बीचमा हराउनु पर्दैन् । नेतृत्वले सधै नयाँपन पाउँछ । यसो गर्दा सवै युवाको पालो आउँछ ।’ उनले वाईसीएलको राष्ट्रिय महाधिवेशन गरेर छाड्छु भनेको भए आगामी वैशाख पुग्थ्यो । वैशाखसम्म उनी अध्यक्ष हुन पाउँथे । तर, उनी नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई जोड दिदै अध्यक्ष पदबाट वाहिरिए । ‘अहिले मैले वाईसीएल छाड्दा नेतृत्वमा नयाँ टीम आयो’ उनले भने, ‘अव वैशाखमा हुने महाधिवेशनमा अहिलेको पुस्ताले पनि छाड्छ । अर्को पुस्ता नेतृत्वमा आउँछ । यसो हुदाँ युवाहरु बीचमा अल्झिन र हराउनु पर्दैन् । नेतृत्व तहमा पुग्ने अवसर एकपटक सवैको आउँछ ।’ उमेरहदलाई कायम गर्दै आगामी मंसीर ४ मा हुने निर्वाचनमा होमिने उदेश्यले उनी अहिले गृह जिल्ला कास्कीमा खटिएका छन् । कास्की क्षेत्र नम्बर दुईवाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने उनको योजना छ । उनी गठबन्धनवाट कास्की २ मा वलियो उम्मेदवार हुन् ।
पोखरा महानगरपालिका–९ नयाँबजारका वुवा शिवलाल र आमा हिमादेवीका कान्छा छोरा हुन् देवकोटा । उनका दुई दाई र एक दिदी छन् । पढाईमा स्नातक गरेका उनी पेशाले व्यवसायी हुन् । सेनेटरी प्याडको व्यवसाय गरेका देवकोटा पोखरा हेल्थ क्लवका संचालक पनि हुन् । २०५० सालमा अखिल क्रान्तिकारीको वाल संगठनमा आवद्ध भएपछि राजनीति यात्रा सुरु गरेका सुमन जनमुक्ति शेनाको बटालियन कमाण्डर हुदैँ शान्ति प्रक्रियामा वाईसीएलमा जोडिएका थिए । २०६३ सालमा वाईसीएलको कास्की जिल्ला सचिव भएका उनी उपाध्यक्ष हुदैँ २०७८ मा केन्द्रीय अध्यक्ष बने । अहिले उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । नेपाल ट्रायथलनको केन्द्रीय उपाध्यक्षसमेत रहेका उनले युवा लक्षित कार्यक्रममा जोड दिएका छन् । युवालाई उद्यमशिलता, व्यवसाय र राजनीतिसँग जोड्ने योजना लिएका उनले वाईसीएलमा रहदाँ समाजवादको व्यवहारिक अभ्यास गर्नको लागि वाईसीएलमा आवद्ध भएकालाई वित्तिय साक्षरताको तालिम उपलब्ध गराएको बताउँदै भने, युवालाई उद्यमशिलता र व्यवसायमा नजोडी राजनीति हुदैन । भ्रष्टाचार हट्दैन् ।’ सवै युवाको पान नम्बर हुनुपर्ने मान्यता उनको छ । ५० हजारदेखी १ लाख रुपैया“सम्म भए पनि ऋण सवै युवाले लिनुपर्ने तर्क उनको छ । उनले सांसद भए पनि प्रमुख योजना युवालक्षित नै हुने बताए । ‘युवाले पार्टीको झण्डा र डण्डा बोक्ने मात्र होइन, उत्पादनसँग जोडिनुपर्छ’ सुमनले भने । वाईसीएलका युवालाई उनले वित्तिय साक्षरता तालिम पनि संचालन गरिसकेका छन् । उनले शैक्षिक करिकुलमजस्ता केही संवैधानिक जटिलता कायमै रहदाँ युवा क्षेत्रमा समस्या पुगेको बताए । उनका अनुसार खेलकुद क्षेत्रका युवालाई शैक्षिक शिक्षा बाधक बनेको छ ।
‘शैक्षिक कलिकुलम चेन्ज नगरे युवालाई अगाडी बढाउन सकिदैन’ उनले भने, ‘युवालाई १० कक्षासम्म नैतिक शिक्षा, ११ र १२ कक्षामा १ वर्ष १०० को पूर्णंकको व्यवसाय शिक्षा अनिवार्य गर्नुपर्छ ।’ पार्टीले उनलाई प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा सिफारिस गरेको छ । पार्टीले उनीसँगै गंगा पोखरेललाई पनि सिफारिस गरेको छ । तर, पोखरेल भूमि आयोग कास्कीका अध्यक्ष हुन् । उनी केही समयअघि मात्रै नियुक्त भएका थिए । यसकारण पनि सुमन नै बलियो उम्मेदवार मानिन्छ । यसो त, कास्की २ एमालेको आधार क्षेत्र हो । काँग्रेस पनि कमजोर रहेको र काँग्रेसका जिल्लादेखी केन्द्रीयसम्मका नेता क्षेत्र नम्बर १ र ३ मा बढी रहेकाले २ नम्बर माओवादीले पाउनेपर्ने तर्क उनको छ । यदी गठबन्धनमा भागवण्डा गर्दा काँग्रेसले छाड्ने क्षेत्र पनि २ नै हो । माओवादी केन्द्रका पनि धेरै जसो नेता १ र ३ नम्बर क्षेत्रमा नै भएकाले उनी गठबन्धनवाट साझा उम्मेदवार हुनेमा ढुक्क छन् । ‘गण्डकीका अन्य जिल्लामा भागवण्डा लगाउँदा पनि कास्की एउटा माओवादीले पाउँछ’ उनले भने, ‘काँग्रेसले छाड्ने भनेको दुई नम्बर नै हो ।’ गठबन्धनवाट साझा उम्मेदवार भएपछि निर्वाचनको मत परिणाम आफ्नो कोल्टामा आउनेमा उनी विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *