वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकको माग र आवश्यकताको आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो । तालिममा कृषकलाई तरकारी लगाउने तरिका, बर्नाको संरक्षण र रोपण लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।
कृषकको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भईरहेको संस्थाले बताएको छ ।

तालिममा दियालो/युएनडिपीका प्राविधिक शोभाकान्त पाण्डे र राजेन्द्रप्रसाद लामिछाने लगायतले प्रशिक्षण गरेका थिए ।
यस्तै, वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूह तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकलाई आलु लगाउने, हुर्काउने, खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी दिइएको हो । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्ब बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिमबहादुर खत्रीले किसानलाई आल खेतीका सम्वन्धमा बिभिन्न जानकारी गराएका हुन् ।
वालिङ नगरभित्रका कृषकले बिभिन्न सहकारी र समूह बनाएर आलु खेती गर्न शुरु गरेका छन् । कृषकको मागका आधारमा खेतमा नै गएर आलु खेती सम्वन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यवशायीक तालिम खेती सम्वन्धी प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।
तालिममा युएनडिपी नेपालका सञ्चार अधिकृत कोमलप्रसाद भट्टले कृषकको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिए । कार्यक्रममा बिभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यवसायीक रुपमा आलु खेती गर्दै आएका कृषक गरी ५० जनाको सहभागिता रहेको थियो ।