स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत आँधीखोला किनारमा बाँसको उद्योग संचालन गरिने भएको छ । आँधीखोला नजिक रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको हो ।
वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी बाँसजन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्नका लागि नगरपालिका र छाता संस्था नेपालबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नगरप्रमुख कृष्ण खाण र छाता संस्था नेपाल गैरसरकारी संस्थाका अध्यक्ष मेघबहादुर आलेबीच हस्ताक्षर गरिएको हो ।
‘आँधीखोला स्कुल अफ बेम्बो टेक्नोलोजी एन्ड रिभर रेस्टोरेसन’ परियोजनामार्फत बाँसका सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरिने भएको हो । उक्त उद्योग सञ्चालनका लागि लक्जेम्वर्गको ओएनजिडी कम्पनीले बीउ पुँजी उपलब्ध गराउने छ । आँधीखोलाको दुवै किनारामा रहेका बाँसको प्रयोग गर्दै बाँसबाट बन्ने विभिन्न प्रकृतिका सामग्री उत्पादन गर्नका लागि नगरपालिका कार्यालय र छाता संस्था नेपालबीच सम्झौता भएको छाता संस्था नेपालका अध्यक्ष आलेले बताए ।
आँधीखोलाको किनारमा प्रशस्त मात्रामा बाँस छन् । ती बाँस त्यसै खेर गइरहेको अवस्था छ । बाँसबाट धेरै प्रकारका सामग्री बनाउन सकिने अध्ययनबाट देखिएकाले उक्त प्रविधिलाई वालिङमा भित्राउने तयारी गरिएको बताइएको छ ।
स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने, नयाँ नयाँ प्रविधि तथा सीप वालिङमा भित्रिने र वालिङको पहिचानका रुपमा बाँसका सामग्रीलाई स्थापित गर्नका लागि पनि यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नपाको छ । पहिलो चरणमा पाँच वर्ष अवधिको रहने परियोजना क्रमशः थप गर्दै लगिने भएको हो । परियोजना सञ्चालनका लागि अनुमानित चार करोड खर्च हुने बताइएको छ ।
स्थानीय सरकारलाई सबल र सक्षम बनाउनका लागि पनि आम्दानीका स्रोत बढाउँदै जानुपर्ने भएकाले बाँस उपयुक्त स्रोत हुनसक्ने नगरप्रमुख कृष्ण खाँणले बताए । नदीको संरक्षणका लागि नदी किनारमा नयाँ नयाँ प्रजातिका बाँस थप गरेर नर्सरी स्थापना हुनेछन् । परियोजना सञ्चालनसँगै स्थानीय युवा तथा महिलालाई बाँसबाट बन्ने हस्तकलाका सामग्री बनाउने सीप प्रदान गरिने भएकाले रोजगारीको अवसर मिल्नेछ । नदी संरक्षणसँगै लोपोन्मुख अवस्थामा रहेको माझी जातिको माछा मार्ने पेसालाई पुनःस्थापित गरिने मेयर खाँणले बताए ।