स्याङ्जाको वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा पत्रकारको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो ।
सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरका सम्पूर्ण सार्वजनिक संस्थामा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने ब्यवस्था मिलाउने, यसको लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने ब्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने रहेका छन् । त्यस्तैगरी जनसमुदाय तथा सरोकारवाला (आमा समूह, शिक्षक, पत्रकार, युवाक्लब, टोल विकास संस्था)सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि अन्तरक्रिया एवं छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उनले बताए ।
“सुर्तीजन्य पदार्थ सेवन एक किसिमको लत हो, जुन हामीले जान्दा जान्दै पनि पैसा तिरेर रोग किनिरहेका छौं” उनले भने, ‘झट्ट हेर्दा यसको नियन्त्रण जटिल देखिन्छ तर सबैको सहयोग र सहकार्यबाट संभव छ ।” नेपाल सरकारले कानून बनाएको र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने भएकाले पनि नगरपालिकाले यसको नियन्त्रण र नियमनलाई कडाईका साथ कार्यान्वयनमा अगाडि बढ्ने उनको भनाई छ । “यसलाई जबर्जस्ती तबरबाट भन्दा पनि परामर्श र सचेतनामार्फत विस्तारै विस्तारै नियन्त्रण गर्दै जानेछौं” उनले थपे, “आगामी केही वर्षपछि मापदण्डहरु पूरा गर्दै वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर घोषणा गर्नेछौं ।”
सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि २०६८ सालमा ऐन नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकाहरुमा अभियानकोरुपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए । “सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि मन्त्रालयबाट मात्रै नसकिने र अन्य विभिन्न संघसंस्था, कार्यालय तथा निकायहरुसँगको सहकार्यबाट मात्रै अगाडि बढ्दा बढी प्रभावकारी हुन्छ” निर्देशक शर्माले भने, “नगरपालिकाले जुन प्रतिबद्धता जनाएको छ यसबाट थप उत्साह तथा उर्जा मिलेको छ । जसले भावी दिनमा राम्रो उपलब्धी हाँसिल हुनेमा हामी विश्वस्त छौं ।”
