कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आफ्नो पालिकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पालिकामा धेरै नै विकास भएपनि प्रचार भने नभएको धारणा राखे ।
अध्यक्ष थापाले आफ्नो पालिकामा पहिलो पाँच वर्षमा सात अर्व रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा कोभिड लगायतका कारणले साढे ५ अर्व रुपैयाँ बराबर खर्च भएको जानकारी दिए । उनका अनुसार अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पीच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पीच गरिएको बताए । यो आर्थिक वर्षभित्र ४२ किलोमिटर पीच भइसक्ने उनले जानकारी दिए ।
पालिकाको वडा नम्बर २ बाहेक सबै वडा कार्यालयसम्म पिच बाटोले जोडिएको र वडा नम्बर २ को कार्यालयमा पनि यो आर्थिक वर्षभित्र पिच बाटो पुयाउने उनको घोषणा छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयमा पालिकाले महत्वपूर्ण प्रगति गरेको उनले दाबी गरे । पालिकाभित्र रहेका धार्मिक पर्यटकीय पूर्वाधारको विकास र उचित प्रचारप्रसारमा पालिकाले ध्यान दिएको उनले बताए । पालिका आफैले २४ रोपनीमा ड्रागन फूड्स लगाएर कृषकलाई प्रोत्साहन गरिएको, पालिकामा जन्मेका सबैलाई निःशुल्क स्वास्थ्य विमा लागु गरिएको र पालिकालाई ग्यास चुल्हो मुक्त बनाउने योजनामा आफूहरु रहेको उनले बताए ।
उनका अनुसार पालिकामामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको र निजी विद्यालय घट्दै गएको बताए । कालीगण्डकीमा हाल ३९ विद्यालयमध्ये ३५ वटा सामुदायिक र चार वटा मात्र संस्थागत विद्यालय छन् । यस्तै, निःशुल्क विजुल महशुल पनि वितरण गरिएको उनले बताएका छन् । उनका अनुसार न्युनतम शुल्क तिर्नुपर्दैन् ।
गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पालिकामा सबै काम विवाद रहित ढंगले हुने गरेको जानकारी दिइन् । उनले दुर्गम भनिएको पालिकामा पत्रकार महासंघ गण्डकी प्रदेशले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाको पर्यटकीय र पूर्वाधार विकासका विषयमा प्रस्तुतिकरण राखेका थिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीले निर्माण गरेर महासंघ जिल्ला शाखा स्याङ्जालाई वेवसाइट हस्तान्तरण गरेको छ । पोखरा महानगरको सहयोगमा महासंघ गण्डकी प्रदेश समिति अन्तर्गत सूचना तथा प्रविधि उपसमितिले वेवसाइट डिजाइन गरेर महासंघ स्याङ्जालाई हस्तान्तरण गरेको हो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको समन्वय र कालीगण्डकी गाउँपालिकाको सहयोगमा भएको सो कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष नारायण शर्मा, महासंघ स्याङ्जाका कार्यबहाक अध्यक्ष राधकृष्ण डुम्रे र सचिव प्रतीक्षा काफ्ले लगायतले उक्त अवसरमा बोलेका थिए ।