विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब

Share this post :

Facebook
Twitter
WhatsApp

चालु आर्थिक वर्ष (२०७९–८०) मा नेपाल विद्युत प्राधिकरणले साढे ८ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ कुल आम्दानी गरेको जनाएको छ । सो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) खुद नाफा कमाएको छ ।
सरकारी स्वामित्वका कम्पनीमध्ये प्राधिकरणको यो नाफा सबैभन्दा धेरै हो । प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । २०७६–७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७–७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गत आव २०७८–७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *