यहाँको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल आगामी गाउँसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम बनाउन आफै लागी परेका छन् । उनी संलग्न पार्टी नेकपा एमालेको घोषणपत्रसंगै नेपाली काँग्रेसको घोषणापत्र उनको साथमा छ । माओवादी केन्द्र लगायत अन्य दलले पालिकाको विकासका लागि अघि सारेका सोच र योजनालाईसमेत संलग्न गर्ने सोच राखी सवैको साझा नीति तथा कार्यक्रम ल्याउन अध्यक्ष पौडेल अध्ययन र छलफलमा जुटेका छन् ।
‘मैले सवैका घोषणापत्र पढे’ उनले भने, ‘सवैको उदेश्य पालिकालाई समुन्नत बनाउने नै हो । तात्विक घोषणापत्रमा लेखाई र भाषा फरक भए पनि सोच र योजना एउटै खालका छन् । लोकतान्त्रिक विधि अनुसार जनताले मलाई जिताए । हार्ने साथीलाई पनि जनताले विश्वास गरेर मत दिएका हुन् । उनीहरुको मत सम्मानका लागि सवैको घोषणापत्र समेटेर नीति तथा कार्यक्रम तयार गर्न लागेको हुँ ।’
गतवर्ष निर्वाचन सकिएलगत्तै नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘निर्वाचित भएपछि नीति कार्यक्रम र बजेटको लागि समय दिन भ्याइएन् । निर्वाचित भएको दुई महिना बधाई र सम्मानमै वित्यो’ उनले भने, ‘समय कम । नयाँ जनप्रतिनिधि त्यति अनुभव थिएन । अव निर्वाचित भएको एक वर्ष पुग्यो । हामीले पालिकाको विषयमा धेरै बुझ्ने अवसर पायौ । अव जनताले परिक्षण गर्ने बेला भएको छ । जनतालाई दिएको आश्वासन एक वर्षको अवधिमा कति पुरा भए ? घोषणापत्र पल्टाएर आत्मसमिक्षा गर्दैछु ।’ उनले कतिपय कार्यक्रम घोषणापत्रमा नै समेटिएको सम्बोधन भए पनि बाँकी कार्यक्रमलाई नीति तथा कार्यक्रममा नै लिएर जाने बताए ।
पालिका प्रमुख कुनै पनि पार्टीको नभई साझा हुने तर्क उनको छ । सवै दलको सुझावबाट साझा योजनालाई नै अघि सार्ने योजना उनले सुनाए । अध्यक्ष पौडेल आगामी वर्षको लागि पालिकाको नीति तथा कार्यक्रम आफू स्वंम लेख्ने तयारीमा छन् । ‘यसभन्दा अघिका नीति कार्यक्रम पनि अध्ययन गरे’ उनले थपे, ‘प्रदेश र संघिय सरकारका नीति कार्यक्रम पनि अध्ययन गरे । त्यसपछि पालिकाको नीति कार्यक्रम म आफै लेख्न लागेको हुँ ।’
निर्वाचित भएको एक वर्ष वितिसक्दा भएका कामको आधारमा नै बाँकी ४ वर्षका योजना तय गर्ने सोचमा उनी छन् । आँधीखोला गाउँपालिका–५ का शिव लामिछानेले पहिलोपटक सवै दलका घोषणापत्र अनुसार योजना बनाउने पालिका आँधीखोला पहिलो रहेको दावी गरे । ‘पछिल्लोसमय राजनीतिक दलबीच एक–आपसमा द्धन्द्ध छ’ लामिछाने भन्छन, ‘एउटा दलले राम्रो गरे अर्को दलले नराम्रो भनेर प्रचारप्रसार गर्छन् । एकआपसमा कुटपिट गरेको देखिन्छ । राम्रा काम भए पनि अर्को दलले गरेको भए ओझेलमा पर्छन् । तर, हाम्रो पालिकामा पहिलोपटक सवै दलका विचारलाई सम्मान गर्दै योजना बनाउन लागिएको छ । यो राम्रो अभ्यास हो ।’ राम्रो काम अन्य पालिकाको लागि पनि उदाहरणीय हुने उनले बताए ।