वेपत्ता भएको २१ वर्षपछि घर

Share this post :

Facebook
Twitter
WhatsApp

फुलेको सेतो कपाल । सेता दाह्री । टाउकोमा ढाका टोपी । पातलो शरीर । उमेरले बृद्ध भइसकेका उनी आइतबार साँझ लखरलखर स्वरेकको उकालो चढिरहेका थिए । गाउँमा कहिलै नदेखिएको, नयाँ अनुहार । सवैको नजर उनैप्रति थियो ।
लखरलखर उकालो चढ्दै गरेका उनी स्याङ्जाको भीरकोट नगरपालिका–५ का बलराम पाण्डे थिए । हराएको २१ वर्षपछि उनी गाउँ फर्किएका हुन् । उनलाई घर फर्किदा कसैले चिनेनन् । उनी घरमा नगई सिधै गाउँमा दिदी पर्नेको घर पुगे । दिदी भाईको भेटपछि चिनजान भयो । दिदीले हराएको भाई हो भन्ने पत्ता लगाइन् र उनको छोराछोरीलाई खबर गरिन् । २०५८ मा उनी रोजगारीको लागि भारत गएका थिए । भारतमा नै सरकारी जागिरे उनी त्यसपछि परिवारको सम्पर्कमा आएनन् ।
छोडेर जादाँ आमा, श्रीमती, तीन छोरा र दुई छोरी थिए । फर्किदा उनले आमा गुमाएका छन् भने नातिनातिना पाएका छन् । परिवारले जिवित छ या छैन, आउँछ या आउदैन भनेर आश नै गुमाएका पाण्डे एक्कासी घर आउँदा आश्चर्य भएकी पत्नी लक्ष्मी सवैभन्दा बढी खुशी देखिन्थिन् । भन्छिन, ‘सिँदुर हालेर विहे गरेको श्रीमान हो । आज संसारकै खुशी छु ।’ जिवितै आउँछ भन्ने आश भने मारिसहेको थियो परिवारले । उनी अहिले परिवारसँगै खुशीका साथ बसेका छन् । बलराम आफ्नो जन्मभूमि विर्सिन भन्दा पनि घर फर्किन मन नलागेका कारण भारतको राजस्थान बस्दै आएको बताए । ‘उत्तै नोकरी गरे’ उनले भने, ‘आश्रममा बस्दै आएको थियो । मलाई घर फर्किएर आउनै मन लागेन । एक दिन सपनामा एक्कासि घरको याद आयो । परिवार सम्झे । आफू जन्मिए, हुर्किएको गाउँ देखे र भोलिपल्टै घर फर्किए ।’
उनी घर फर्किन मन नलाग्नुको कारण भने भनेनन् । बलरामका दाजु (काकाको छोरा) पिताम्बर पाण्डेले भने, दाई घर फर्किएर आउने विश्वास रहेको बताए । ‘गत फागुनमा कुलाइनको पुजा गर्दै दाईलाई सम्झिएको थियो’ उनी रुदै भन्छन, ‘कुल देवता दाईलाई घर फर्काइदेउ म अर्कोपटक पुजामा सँगै लिएर आउँछु भनेर भाकल गरे । कुलाइनले दाईलाई घर ल्याइदिनुभयो ।’ हराएको मान्छे जिउँदो रहदासम्म ढिलो चाँडो जसरी पनि घर आउँछ भन्ने विश्वास रहेका उनी बताउँछन् । बलराम अहिले घरमा पनि खुशीको साथ समय विताएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *