विहान १० बजे कार्यालय पुगे भने घर फर्किदा जहिल्यै साँझ पर्छ । बेलुका घरमा फर्किने समयको टुंगो हुँदैन् । वडा कार्यालय पुगेपछि भेटिने बृद्धबृद्धाको सेवामा म आफै हराउँछु । उनीहरुसँग भुलेको पनि थाहा पाउँदिन । समयै वितिहाल्छ ।
पोखरा महानगरपालिका–१३ की वडा सदस्य सुचित तामाङ वैदेशिक रोजगारीका लागि लामोसमय कुवेत बसेर फर्किएकी हुन् । नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय तामाङ प्रमुख प्रतिद्धन्द्धी एमालेकी कृष्णकुमारी गुरुङलाई २१ मतले हराउँदै विजयी भएकी थिइन् । अहिले उनको दिनचर्या वडा कार्यालयमा नै वित्ने गर्दछ ।
मादी गाउँपालिका–८ मिजुरेमा जन्मिएकी उनको पारिवारीक पृष्ठभूमि पनि राजनीतिक हो । समुदाय मात्र नभई घरपरिवारवाटै विदेश जाने सदस्य भएपछि सुचितलाई पनि विदेश जाने रहर जाग्यो । २०५० सालमा एलएलसी दिएकी उनले उर्तीर्ण गरिनन् । त्यसपछि विदेश जाने निर्णय गरिन् । २०५३ सालमा कुवेत गएको बताउदै उनले भनिन, ‘विदेश रहर बाध्यता दुवै थियो । वुवा भारतीय सेना भएकाले पनि आर्थिकरुपमा त्यति समस्या त थिएन । तर, बाध्यता भन्दा बढी बढी थियो ।’ काकाको छोरा दाईसँग सल्लाह गरेर कुवेत गएको सुनाइन् । उनले कुवेतमा घरभित्रको काम गरिन् । परिवार जस्तो माया गर्ने घर भेटाएकाले पनि उनले दुःख भने भोग्नुपरेन् ।
उनले मासिक १० हजार रुपैयाँ तलव बुझेको अहिले जस्तै लाग्ने बताउँछिन् । ‘त्यतिबेला विदेश आउँदा पनि जम्मा १० हजार तलव दिए भने जस्तो लाग्थ्यो’ उनले थपिन, ‘पछिपछि आफूले कमाएको पैसा भनेपछि माया लाग्न थाल्यो ।’ घरेलु कामदारकोरुपमा उनले कुवेतमा साढे ४ वर्ष विताइन् । विवाह विराटनगर गरेकी थिइन् । सरकारी जागिरे श्रीमान छाडेर वैदेशिक रोजगारीमा गएकी उनी भन्छिन, ‘मैले राम्रो घर पाए भनेर भएन अरु महिलाको हकमा निकै दुःख थियो ।’ उनको विदेशमा रहदा कतिपय महिलालाई उद्दार गरेर घर पठाएको अनुभव छ । मेनपावरको ठगीसँगै व्यक्तिबाट ठगिएका समस्या बढी हुने बताउँदै उनी भन्छिन, ‘विदेश जाने हो भनिन्छ । तर, विदेश जानको लागि संगै लैजाने हामीसँग कुनै सीप हुदैन् । भाषा जानिएको हुदैन् । त्यसैमाथि दलालले उस्तै ठग्छ । हामी नबुझेरै पनि धेरै दुःख पाएका छौ ।’ फ्रि भिषा फ्रि टिकटबाट विदेशीएकी सुचितको विदेश हुदा तीन चारवटा देश घुमेको अनुभव छ ।
पाँच दिदीवहिनीकी कान्छी सुचित आगामी दिनमा पनि जनप्रतिनिधि भएर नै समाजसेवा गर्ने रहर रहेको सुनाउँछिन् । ‘यसवर्ष एसएलसी दिने विचार छ’ उनले भनिन, ‘पहिला पढ्ने बानी भएन बुढेसकालमा रहर जागेको छ ।’ वैदेशिक रोजगारीबाट फर्किपछि उनी फेरि जान भने मन नलागेको बताउँछिन् । वैदेशिक रोजगारीमा गएका छोरीलाई हेर्ने दृष्टिकोण फरक हुने बताउदै उनले आफू छोरासरह विदेश गएर पैसा कमाएकोप्रति गर्व महसुस हुने बताउँछिन् । स्थानीय तहमा जनप्रतिनिधि भएर बृद्धबृद्धाको सेवामा नै बढी खटिइने उनी समाजसेवामै बढी सन्तुष्टि मिल्ने बताइन् । निर्वाचित भएको डेढ वर्षको अनुभवले उनलाई आगामी निर्वाचनमा वडा चालउन सक्छु भन्ने हिम्मत बढेको छ ।
भन्छिन, ‘आगामी निर्वाचनमा वडाध्यक्ष बन्ने तयारीमा छु ।’ वडा कार्यालयमा घरायसी मुद्दा बढी पर्छन् । त्यस्ता मुद्दा सहजरुपमै मेलमिलाप प्रक्रियाबाट टुंगो लगाउने उनी बताउँछिन् । ‘वैदेशिक रोजगारीमा ठगी भएका मुद्दा पनि प्रशस्तै आउँछन्’ उनले थपिन, ‘विशेषगरी व्यक्तिबाट २५-३० लाख ठगियौ भन्छन् । त्यस्ता मुद्दा पनि मेलमिलापबाटै टुंग्याउँछौ ।’
गण्डकी प्रदेशमा वैदेशिक रोजगारीमा जानेको संख्या बढी छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का अनुसार गत चालु आवमा ९९ हजार ८ सय ३ जनाले श्रम स्वीकृत लिएका थिए । जसमध्ये ८ हजार ३ सय ५७ जना महिला छन् । सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले गण्डकी प्रदेशका एघार जिल्लामध्ये सवैभन्दा बढी कास्कीबाट १ हजार ५ सय १७ र गोरखा १ हजार ३ सय ७४ जना विदेशिएको बताए । वैदेशिक रोजगार विभागको तथ्यांकले पनि गत आवमा महिला मात्रै ५.६ प्रतिशत विदेशिएको जनाउँछ । तथ्यांक अनुसार वार्षिक औसतमा गण्डकी प्रदेशमा १० प्रतिशत भन्दा बढी महिला विदेशिएका छन् ।
श्रम रोजगकार कार्यालय पोखराका प्रमुख सुरेश ढकालले वैदेशिक रोजगारीमा बढी ठगी रहेको बताउँदै यस क्षेत्रमा चाहेर पनि सुधार गर्न नसकिएको बताएका छन् । उनले मेनपावरमा नै ठगी बढी रहेको बताउँदै विदेश पठाउँछु भन्दै ठग्ने व्यक्तिको संख्या पनि बढ्दो रहेको सुनाए । ‘ठगीका गुनासा र उजुरी धेरै छन् तर, कारबाही गर्न सक्दैनौ’ उनले भने, ‘विदेश जानेले सामान्य कुरा पनि नबुझ्दा प्रमाण जुटाउनै समस्या छ ।’
विदेशमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउँदा पनि ठगी हुने गरेको बताउदै उनले भने, ‘श्रम स्वीकृतको महत्व पनि बुझेका छैनन् भने, बीमाबारे पनि जानकारी छैन । यस्ता समस्याले विदेशमा केही भइहाले पनि सहयोग पाउने अवस्था हुदैन् ।’ सामाी कार्यक्रमले विदेशमा जाने व्यक्तिलाई पासपोर्ट बनाउने, सुरक्षित जोगिने बारे, ठगी, सीप तालिम, भाषा, सुरक्षित हुने उपाय, पैसा, आम्दानी, मेनपावरमा हुने ठगी, प्रमाणहरु, फ्रि भिषा, फ्रि टिकटबारे जानकारी गराउदछ । ‘खाडी र युरोपमा जानेलाई एकथरी, पढ्न, घुम्न र डिपेन्डेन्टमा जानेका लागि बुझाउने काम गर्छौ अधिकृत रेग्मीले भने ।