गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले शिक्षा समाज परिवर्तनको मेरूदण्ड रहेकाे बताएकी छन् । म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने नाराले सम्रग शिक्षामा सुधार गर्नुपर्ने विषय समेटेको बताउँदै उनले शिक्षा क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताईन् ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा आयाेजित विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रममा बाेल्दै उनले सरकारले ल्याउने आगामी बजेटमा शिक्षालाई प्राथमिकता दिइने बताईन् ।
मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रम अझै प्रभावकारी बनाएर अगाडी बढ्ने बताए । विषयगत शिक्षक समुह गठन तथा परिचालन सम्वन्धी मापदण्डको बारेमा शिक्षा निर्देशनालयका उपसचिव नारायण पौडेलले प्रस्तुति राखेका थिए । शिक्षा निर्देशक अम्विका आचार्यले पहिलो पटक नयाँ कार्यक्रम, नौलो ढंगले गदै गण्डकी प्रदेशलाई शैक्षिक गन्तव्यको थलो बनाउने दाबी गरे । यस्तो किसिमको कार्यक्रम गर्ने गण्डकी प्रदेश पहिलो प्रदेश हो ।
शिक्षक समुह गठनबाट सम्वन्धित विषयका शिक्षकलाई शिक्षण गर्दा आईपरेका समस्याको समाधान निकाल्न सहयोग पुग्ने आचार्यले बताए । पछिल्लोसमय गणित, विज्ञान र अंग्रेजी पढाउने शिक्षक पनि कम, प्रतिस्पर्धा पनि कम र पढ्ने विद्यार्थी पनि कम भएको हुँदा यसलाई पनि सुधार गर्नुपर्ने उनकाे तर्क थियाे । विद्यार्थीलाई केन्द्रीकृत गरेर प्रदेशले शैक्षिक महोत्सव र शैक्षिक सामग्री निमार्ण कार्यशाला गर्नुपर्नेमा उनकाे जाेड थियाे ।