गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट (सोमबार) मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् ।
थापाले गण्डकीको कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयको सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन् । निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताए । ‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिए’ उनले भने, ‘आसन्न प्रदेशसभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचारप्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’ जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि आफु सचेत रहेको र आज पनि भएको अभिव्यक्ति उनको छ । आगामी समय पनि सो कार्यले निरन्तरता पाउने भनाई मन्त्री थापाको छ । मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
