तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन ‘भाइटीका’ पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी मिष्ठान्न भोजन गराउने र कोसेलीहरू दिने चलन छ ।
धार्मिकशास्त्रअनुसार बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइटीका लगाइदिएको धार्मिक विश्वास छ । भाइटीकालाई दिदीबहिनी तथा दाजुभाइबीच अटुट् सम्बन्ध बलियो बनाउने पर्वका रुपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सुख, शान्ति, समृद्धि, सन्तुष्टि र सफलताको प्रतिकको रुपमा पनि सप्तरंगी टीकालाई लिन सकिन्छ । टीका लगाइदिएसँगै मखमलीको माला, फिनी रोटी, सेलरोटी, अनर्सा, भाइमसालालगायत खानेकुराबाट दाजुभाइलाई दिदीबहिनीहरूले सत्कार गर्छन् । दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दानदक्षिणा र कोसेली दिने चलन रहेको छ ।
भाइटीकाको दिन लगाइने सप्तरंगी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा तथा निरोगी भइइरहने भन्ने विश्वास छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्य सचिव सन्तोष वाशिष्ठका अनुसार सप्तरंगी टीका ७ वटा ग्रहसँग सम्बन्धित छन् । उनी भन्छन्, ‘ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको महत्त्व छ । राहु र केतु पनि ग्रह हुन् तर यसले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ । सप्तरंगी टीका तिनैसँग सम्बन्धित छन् ।’ उनका अनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् । ‘टीका त वैदिक सनातनमा चलिआएको भएपनि भाइटीकाको दिन लगाइने सप्तीरंगी टीकाले र एकदिन भएपनि ९ वटै ग्रह जसरी जिवित छन् जसरी ९ वटा ग्रहको दृष्टिले शरीर मजबुत भएको छ त्यसैगरी नै जीवनभर भइराखोस् भनेर आर्शिवाद दिएर दाइभाइलाई टीका लगाइन्छ,’ उनले प्रष्ट्याए ।
सप्तरंगी तिहारको झिलिमिलीसँग पनि जोडिएको मानिन्छ । ज्योतिषशास्त्रका अनुसार ७ वटा रंग शरीर तथा निधारमा राखियो भने त्यसले शरीर उर्जाशील बन्ने उल्लेख गरिएको वाशिष्ठ बताउँछन् । भन्छन्, ‘धर्मशास्त्रअनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा निरोगी र दिर्घायुको कामना गर्दै आर्शिवाद दिएर लगाउने र दाजुभाइले पनि त्यही कामनाका साथ लगाउने हो । त्यसैगरी भाइटीकामा प्रयोग हुने ओखरको पनि महत्त्व छ। ओखरको बाहिरको कठोरपनले नराम्रा कुराहरू फुटेर जाउन् र भित्रको मलिन स्वभावहरू भइराखोस् भनेर फुटाइन्छ । ओखर यमराजको प्रतिक मानिन्छ । ओखर फुटाएर बाहिर फाल्नाले नराम्रो चिजहरू फालिन्छ भन्ने हो । मखमली फूल कहिल्यै नओइलाउने भएकाले दाजुभाइको अनुहार जहिल्यै उज्यालो र झलल् भइराखोस् भनेर लगाइदिने चलन छ ।’
नेवार समुदायले पनि भाइटीकाको दिनलाई ‘किजा पूजा’को रुपमा मनाउने गर्दछन् । नेवार भाषामा किजा अर्थात भाइ । संस्कृतिविद् सुवर्ण शाक्यका अनुसार तिहारलाई ‘शोन्ती’ भनिन्छ । चाड एउटै भएपनि संस्कृति विधि अनुसार फरक पर्ने उनले बताए । शाक्य भन्छन्, ‘आफ्नो भन्दा ठूला दाइलाई अरुबेला मान्ने संस्कार त छँदैछ सानालाई पनि माया, स्नेह तथा ममता राखेर व्यवहार गर्नुपर्छ भनेर यो किजा अर्थात भाइलाई मात्र पूजा गरिन्छ ।’ भाइपूजा यमराजसँग सम्बन्धित हुन्छ । ‘भाइलाई कालले पनि आफ्नो स्नेह, सद्भाव छुटाएर लान नसकोस् भनेर गहिरो भाव पोखिएको छ यस पूजामा । कहिल्यै नसुक्ने ओखर, कहिल्यै नओइलाउने मखमली फूलले पूजा गरिन्छ,’ शाक्यले भने ।
उनका अनुसार हिन्दु विधिमा दाजुभाइलाई नै सप्तरंगी लगाएर पूजा गरिन्छ भने नेवार समुदायमा रातो र पहेँलो टीका मात्र लगाइन्छ । ‘हामी टीका भन्दा पनि सगुन भनेर भन्छौँ । सगुन टीका भनेर भनिन्छ । पहेलँ र रातो टीका मात्र लगाइन्छ । त्यसमाथि अक्षताको टीका लगाइन्छ । रातो भनेको संघर्षमय जीवनलाई एकमुष्ट पारेर सजाइ राख्नेको प्रतिक टीका हो । दहीसँग मुछेर कहिल्यै नछुटोस् भनेर टीका लगाइन्छ,’ उनले टीकाको अर्थ दर्शाए । कान्तिपुरबाट…
