सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रदेशसभाको शनिवार बसेको वैठकमा धिताल निर्वाचित भएका हुन् । उनको पक्षमा ३२ मत प्राप्त भएको थियो भने, विपक्षमा २६ मत खसेको थियो । प्रदेशसभा बैठकमा ५८ सांसद सहभागी थिए । शनिबार बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुख पदको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए ।
संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् । धिताललाई एमालेको २१, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद राजीव गुरुङले पक्षमा मत दिएका थिए । यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले सभामुखमा उम्मेदवारी दर्ता गरेकी थिइन् । स्याङ्जाको वालिङ नगरपालिका–८ की तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव प्रस्तुत गरेका थिए भने टकराज गुरूङले समर्थन गरेका थिए । शनिबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही मिति अनुसार माघ २ गते १५ दिन पुग्छ ।
६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद रहेका छन् । गोरखाको भिमसेन गाउँपालिका–२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । धिताल संविधानसभा सदस्य पनि हुन् । नवनिर्वाचित सभामुख धितालले समृद्ध प्रदेशको लागि विस्तृत योजना बनाएर नै अघि बढ्ने बताए । ‘सभामुख निर्वाचत भए पनि धेरै बुझ्न पाएकै छैन’ उनले भने, ‘क्रमशः बुझ्दै सिक्दै समृद्ध प्रदेश निर्माणमा भूमिका खेल्नेछु ।’ उनले प्रदेशसभाका सवै सदस्यलाई मिलाएर काम गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचित सभामुखलाई शनिवार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवासमा पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *