नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदमलाई तथाकथित देशभक्तिको जामा दिने महेन्द्रीय राष्ट्रवादीहरू धेरै छन् । एमाले र राजावादी पार्टीहरू संस्थागत रूपमै राष्ट्रपतिको बचाउमा छन् । तर मधेसमा भने राष्ट्रपतिले नागरिकता विधेयक रोकेकोमा चारदिनदेखि लगातार प्रदर्शन भैरहेको छ । धेरै प्रदर्शनहरू जसपाको ब्यानरमा भैरहे पनि त्यहाँ एमाले र राजावादी इतरका हरेक पक्षको सहभागिता र समर्थन छ ।
राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको सिधा सिधा बुझाइ मधेसको आम बृत्तमा छ । दर्शनकारीहरूले ‘राष्ट्रपति भण्डारी राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधान उल्लंघन गर्न पाइँदैन’ जस्ता नारा दैनिक लगाइरहेका छन् ।
तर नागरिकता विधेयकको बिरोधको एमाले राजनीति देखावटी राष्ट्रवाद मात्रै भएको र राष्ट्रपतिले देशभक्ति जागेर होइन, एमालेको चुनावी भलाईका लागि मात्रै विधेयक रोकेकी हुन् भन्ने सच्चाई पनि घाम जत्तिकै छर्लङ्ग छ । त्यसको दृष्टान्त के हो भने लोसपाले एमालेसँग चुनावी तालमेलका लागि उही दिन उच्चस्तरीय बार्ता समिति बनाउनु, राजेन्द्र महतो नेतृत्वको उक्त समितिमा शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य छन ।
एमाले अध्यक्ष ओलीले तालमेलका लागि प्रक्रियागत आउनु भनेपछि लोसपाका नेताहरू जम्बो टोली बनेर बालकोट यात्राको तयारी गर्दैछन् । यो तयारी एमाले र लोसपाको अस्तित्व रक्षाका लागि त हुँदै हो, यसका लागि भारतीय संस्थापनले चर्को दबाब दिएको लोसपा र एमाले सुत्रहरूले पुष्टि गरेका छन् । यसले के प्रमाणित गर्दछ भने कार्यकर्तालाई आन्दोलनमा छाडेर, जो बिरुद्ध आन्दोलन गरिएको हो, त्यसैसँग शरण पर्न जाने लोसपा मधेसी जनताको अधिकार स्थापित गर्ने पक्षमा छैन । र, नागरिकता हक जस्तो संवेदनशील जनसरोकारलाई तथाकथित राष्ट्रवादी आँखाले हेर्ने एमाले नागरिकताबारे जनतामा फगत भ्रम र चुनावी स्वार्थको खेती गर्दैछ । ओलीले ल्याएको नागरिकता अध्यादेश नै यसको ज्वलन्त उदाहरण हो । अन्ततः एमाले भारतीय इसारामै चल्नुपर्ने बाध्यतामा छ ।
लोसपा र एमालेको यो बाध्यतालाई मधेस न पहाड कतैपनि पत्याइने अवस्था भने छैन । किनकि उनीहरूको बिगत प्रयोग भैसकेको छ । भारतीय संस्थापनले दबाब दिने बित्तिकै आन्दोलन र दलीय सहकार्य छोडेर, पार्टी नै फोरेर सबै तहबाट एक्लिएको ओली सरकारमा लोसपा गएको घटना पुरानो भएको छैन । र, प्रम निवासमा भारतीय खुफिया एजेन्सीका सामन्त गोयलसँगको मध्यरातसम्मको मन्त्रणापछि ओलीलाई दुईदुई पटक संसदको घाँटी निमोठ्ने मन्त्रणा सुझेको पनि धेरै भएको छैन् ।
