नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताए ।
नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणापत्र आउन सक्ने संकेत गरे । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए ।
उनले एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएको प्रष्ट पारेका छन् । ‘सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जान्छौं’ उनले भने । प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदै केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताएका छन् । तर, चुनावमा घोषणापत्र एउटै भए पनि चुनाव चिन्ह भने आ–आफ्नै हुने उनले भनाई छ ।
