गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले सरकारकाे लगानीअनुसार शैक्षिक क्षेत्रमा सुधार गर्न नसकिएकाे बताएका छन् । शिक्षालयमा बढ्दाे वेतिथिका कारण सुधार हुन नसकेकाे उनकाे भनाई छ । प्रदेश सरकारले पुँजीगत बजेटकाे राम्राे हिस्सा शिक्षा क्षेत्रमा लगानी गरेकाे छ । तर, फिल्डमा परिणाम नपाइने उनले बताए ।
शिक्षा विकास निर्देशनालयकाे आयाेजनामा बुधबार पाेखरामा आयाेजित प्रदेशस्तरीय असल अभ्यास प्रर्वद्वन कार्यक्रममा सचिव पाैडेलले साे कुरा बताएका हुन् ।
प्रदेशभित्र असल अभ्यास गरेका विधालयलाई मन्त्रालयले थप उत्कृष्ट बनाउन सहयाेग गर्दै आएकाे छ ।
कार्यक्रममा हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङबाट सहभागी थिएनन् । अन्य ९ जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, ४३ विधालयका प्रधानाध्यापक सहभागी छन् । जसमध्ये कास्कीबाट ४, स्याङ्जाबाट ७, गाेरखाका २, लमजुङका ५, पर्वतका ३, म्यादीका ४, नवलपुरका ५, तनहुँका ७ र बागलुङबाट ६ विधालय सहभागी छन् । स्थानीय तहबाट पनि शिक्षा प्रमुखकाे सहभागीता छ ।
शिक्षा निर्देशनालयले गत कार्तिक १९ मा असल अभ्यास गरेका विधालयसंग सुचना माग गरेकाे थियाे । प्रत्येक जिल्लाबाट असल अभ्यास गरेका ३ वटा विधालय माग गरिएता पनि त्यसभन्दा बढी विधालय सहभागी भएकाे निर्देशनालयका उपमहानिर्देशक घनश्याम पाैडेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहले फाईनल गरेर जिल्लाकाे शिक्षा ईकाईमा पठाउने र इकाइले प्रदेशमा पठाउने हाे । तर, आएका जति सूचना छनाेट नगरि सबै प्रदेश पठाउदा बढी संख्यामा आएकाे पाैडेलले बताए ।
कार्यक्रममा ७ जिल्लाका ९ विधालयले आफ्नाे विधालयकाे प्रस्तुति राख्नेछन् । जसमा, मिर्मी आधारभूत विद्यालय कालीगण्डकी गाउँपालिका स्याङ्जा, त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका नवलपुर, महालक्ष्मी माध्यमिक विद्यालय गोरखा, विद्याज्योति माध्यमिक विद्यालयफसुन्दरबजार नगरपालिका लमजुङ, ध्रुवज्योति माध्यमिक विद्यालय कालीगण्डकी गाउँपालिका स्याङ्जा, रामशाह माध्यमिक विद्यालय आँबुखैरेनी गाउँपालिका तनहुँ, विन्ध्यबासिनी माध्यमिक विद्यालय कास्की, बेनी सामुदायिक माध्यमिक विद्यालय म्याग्दी र माछापुच्छ्रे माध्यमिक विद्यालय माछापुच्छ्रे गाउँपालिका कास्की रहेका छन् ।
असल अभ्यासका लागि विधालयले शैक्षिक गतिविधि सुधारको लागि अन्य विद्यालयले गरेको अथवा पठनपाठन भन्दा फरक प्रवृतिका कृयाकलाप गरेको हुनुपर्छ ।
जस्तै, सिकाई उपलब्धी कार्यक्रम, अक्षर सुधार कार्यविधि निर्माण र कार्यान्वयन, प्रविधिमैत्री कक्षाकोठा, भर्ना व्यवस्थित, स्कूल बसकाे व्यवस्था, शिक्षक र कर्मचारीलाई प्रविधिसम्बन्धी तालिम, विधार्थी र अभिभावक तथा शिक्षकबीच कार्यक्रम संचालन गरेकाे हुनुपर्छ ।
त्यसैगरी विधार्थीलाई सहज पुग्ने गरि उजुरी पेटीकाे व्यवस्था हुनुपर्ने र उजुरीकाे सुनुवाइ गर्नुपर्दछ । विभिन्न खेल गतिविधि, विद्यालयको शैशिक गुरुयोजना निर्माण, परीक्षामा पटकपटक अनुत्तीर्ण हुनेलाई पुन परीक्षाकाे व्यवस्था, छात्रवृत्ति, विधार्थीलाई प्रहरीद्वारा कानुनी अभिमुखीकरण, शिक्षकलाई पेसागत सहयाेग, विधालयकाे सुशासन, स्राेत र साधनकाे समुचित सदुपयाेगमा ध्यान केन्द्रित, समग्रमा विधालयकाे शैक्षिकस्तर बढाउने कार्यक्रम, विधालय र समुदाय, शिक्षक र विधार्थीकाे सम्बन्ध दिगाे बनाउने कार्यक्रम, शिक्षकले कक्षा काेठामा पढाउने समय र गर्ने कृयाकलाप असल अभ्यासभित्र पर्ने निर्देशनालयका महानिर्देशक अम्बिका आचार्यले बताएका छन् ।
कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दासले विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रष्यूटन गर्न उपयुक्त वातावरण प्रदान गर्नको लागि तमतयार रहनुपर्ने बताइन् । सिंगो विद्यालय परिवारको स्वच्छ व्यवस्थापन गरी समग्र विद्यालयको व्यवस्थापन र विकासका लागि जाेड दिनुपर्ने उनकाे भनाई थियाे ।
‘जीन्दगीको लामो यात्रा, ज्ञानकाे प्रकाश दिएर बिताएको यो पंक्तिलाई भन्नुपर्ने केही छैन’ मन्त्री सुन्दास भन्छिन्, ‘वाल मनोविज्ञानकाे उच्च अध्ययन गरी आफ्नो पाठ्यक्रम र पाठ्यपुस्तकले निर्दिष्ट गरेकाे छ । शिक्षणा सिकाईलाई निरन्तरता प्रदान गरेकाे याे पंक्ति गुणस्तरीय शिक्षा प्रदानका लागि अझ लाग्ने नै छ । त्यसमा सरकारले हातमा हात र साथमा साथ दिनेछ ।’ उनले सिकाईलाई प्रभावकारी बनाउन विग्रिसकेपछि ए भन्न नभई सुरूमै के भन्न जरूरी रहेकाे सुनाईन् ।
निर्देशनालयले शिक्षककाे गुणस्तर बढाउन र विधालयकाे स्तराेन्नतिका लागि अनुगमन लगायत नियमित कार्यक्रम संचालन गर्दै आएकाे छ । मन्त्रालयका सचिव पाैडेलले आवाजविहिन, स्राेतविहिनहरूका लागि पनि असल अभ्यासले सहयाेग पुग्ने बताए । सचिव पाैडेलले नतिजा देखिने गरि काम गर्न विधालयलाई निर्देशन दिए । असल अभ्यासलाई अझ व्यवस्थित बनाउन सबैजनाले पहल गर्नुपर्ने उनकाे भनाइ छ । प्रदेशभर ४ हजार ९२ विधालय छन् ।