नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरीएको छ । सरकारलाई दिएको समर्थन फिर्ता दिदै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले शुक्रबार साँझ राजीनामा बुझाएका छन् । मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा पत्र बुझाएपछि प्रदेशसभा सचिवालयमा पनि जानकारी पत्र दिइएको हो ।
माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता एवं सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानको नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले संयुक्तरुपमा राजीनामा बुझाए । शुक्रबार विहान ११ बजे पार्टी प्रदेश अध्यक्ष गायत्री गुरुडको उपस्थितिमा बसेको माओवादी संसदीय दलको वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा संलग्न दुई मन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो ।
संसदीय दलका नेता चुमानले केन्द्रको राजनीतिक समिकरण अनुसार पार्टीको निर्णयअनुरुप सरकारबाट बाहिरीएको बताए । राजीनामा दिदै चुमानले सरकारमा सहभागी हुनु र सरकारबाट बाहिरीनु राजनीतिमा स्वभाविक प्रक्रिया रहेको बताए । गण्डकीमा माओवादी र राप्रपाको साथले एमालेको नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यक पर्दछ । दुई मन्त्रीको राजीनामासंगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको अधिकारी नेतृत्व सरकारलाई राप्रपाका दुई र माओवादीका ७ सांसदको समर्थन थियो । राप्रपा केन्द्रमा सरकारबाट बाहिरीए पनि प्रदेशमा भने बाहिरीएको थिएन । मुख्यमन्त्री खगराजलाई माओवादी केन्द्र सरकारबाट बाहिरीएपछि कि राजीनामा दिने या, विश्वासको मत लिने भन्ने दुई विकल्प रहनेछन् । राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री अधिकारीले माओवादीसंगको सहकार्य स्मरणीय रहने बताए । उनले छोटो समय भए पनि मिलेर काम गरिएको बताएका थिए । प्रदेशसभामामा एमाले दोस्रो दलको रुपमा रहेको छ । एमालेका २२ सांसद रहेका छन् भने, सवैभन्दा ठूला दल कांग्रेसका २७ सांसद रहेका छन् । गण्डकीमा राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् । सरकारमा सहभागी हुने नया गठबन्धन कांग्रेस र माओवादी मिलेमा अन्य दलको साथ लिनुपर्दैन् ।
