गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच सहयोग आदानप्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । आइतबार गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै विश्वविद्यालयले उच्च शिक्षा संवद्य हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र संवृद्धिमा सहकार्य गर्नेछन् ।
दुवै विश्वविद्यालयले आ–आफ्ना स्नातक तथा स्नातकोत्तर÷विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गर्ने, खानी ईन्जिनियरिङ्ग सम्बन्धी उच्च स्तरीय पठनपाठन संचालन गर्न आवश्यक पर्ने सम्पूर्ण कुरामा एक आपसमा सहकार्य गर्ने छन् र सो कार्य सम्पन्न गर्न एक कमिटि गठन गरी आवश्यक चाँजो मिलाईने बताइएको छ । यस्तै, हस्ताक्षर पत्रमा दुवै विविले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्को विविमा काजमा खटाउन सक्नेछन, सो सम्बन्धी आवश्यक प्रावधान तोकिए बमोजिम व्यवस्थापन गरिने उल्लेख गरिएको छ । ‘दुवै विविले पहिचानका आधारमा विभिन्न क्षेत्रमा अनुसन्धान कार्यमा सहकार्य गर्ने छ जसको निम्ती प्रयोगशाला, उपकरणहरु तथा अन्य श्रोत साधनको समुचित उपयोग गरिने छ । यो सम्झौता पत्र छ वर्षको निम्ती कायम रहने छ र आवश्यकताका आधारमा अवधि नवीकरण गर्दै जाने प्रावधान छ ।’ पत्रमा उल्लेख छ ।
सम्झौता पत्र हस्थाक्षर कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मन्त्री सीता सुन्दासले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताइन् । गण्डकी विश्वविद्यालयले विद्यार्थीका रुचीअनुसारको विषयलाई समेट्दै अगाडि बढ्नुपर्ने उनको धारण थियो । गण्डकी विविलाई सफल बनाउन गण्डकी प्रदेश सरकारले आफ्नो क्षमता अनुसार सहयोग गर्ने उनले बताएकी छन् । गण्डकी विविका कुलपति प्राडा गणेशमान गुरुङले गण्डकी प्रदेशमा खानीहरुको प्रचुर सम्भावना रहेको उल्लेख गरे । जसका लागि विश्वविद्यालयमा माइनिङ इन्जिनियरिङको आवश्यकता परेकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै दक्ष जनशक्ति उत्पादनमा लाग्ने उद्देश्य रहेको उनले बताएका छन् । ‘गण्डकी विश्वविद्यालयमा अब माइनिङ इन्जिनियरिङको पनि पढाई हुनेछ भन्ने खबर सुनाउन पाउँदा खुशी छौं’ उनले भने, ‘माइनिङ इन्जिनियरिङ आजको आवश्यकता हो । गण्डकी प्रदेशमा खानीको प्रचुर सम्भावना भएकाले यसको उत्खनन्का लागि पनि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । जस विषयमा अध्यापन नै गराई हामी उत्पादन तर्फ लाग्नेछौं ।’
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमा अहिलेसम्म गिटी र बालुवाको मात्रै योजना बनेको बताउदै अध्ययन बिनानै यस्ता प्रकारको योजना बन्दा समस्या भोग्नुपरेको अभिव्यक्ति राखेका थिए । नेपालमा माइनिङ इन्जिनियरिङमा दक्ष जनशक्तिको अभावले समस्या हुने गरेको उनको भनाई थियो । काठमाडौं विश्वविद्यालय लागेको र अब गण्डकी विश्वविद्यालयसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने जानकारी उनले गराएका छन् । उनले दुवै विवि सहकार्य गर्दै माइनिङ इन्जिनियरिङको विषयलाई प्रभावकारी रुपमा संचालन गर्न बताए । सम्झौता कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा, काठमाडौं विश्वविद्यालयका डिन प्राडा मनिष पोखरेल, गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारी लगायतको उपस्थिति थियो ।
