गण्डकी प्रदेशका सांसदले रातो किताव नपाएको गुनासो गरेका छन् । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्व ४२ करोड ७२ लाखको बजेट सार्वजानिक गरेको थियो ।
सरकारले बजटे सार्वजानिक गरेको तीन दिन भइसक्दा पनि सांसदले बजेट विवरणको रातो किताव नपाएको गुनासो गरेका हुन् । उनीहरुले बजेटमा के कस्ता योजना समेटिएका छन् भन्ने विषयमा पनि जानकारी नपाएको बताए । अर्थ मन्त्रालयको फितलो व्यवस्थापनका कारण कार्यक्रम विवरण प्राप्त गर्न नसकिएको सांसदहरुको भनाई छ ।
सामान्यतयाः बजेट वक्तव्यकै दिन सांसदले रातो किताब हात पार्छन् । अर्थ मन्त्रालयले रातो किताव छपाईमा ढिला भएका कारण कसैलाई पनि दिन नसकिएको बतायो । असार ६ गते बस्ने प्रदेशसभाको वैठकमा सवै सांसदलाई रातो किताव दिने तयारी भएको अर्थ मन्त्री जीतप्रकाश आलेले बताए । बाग्मती प्रदेशले भने रातो किताव सार्वजानिक गरेसंगै अर्थ मन्त्रालयको वभसाइटमा समेत राखेको छ ।
बाग्मतीका सांसदले भने बजेटमाथि छलफलमा जुटिसकेका छन् । यता, गण्डकीमा भने अर्थ मन्त्रालयको झुर व्यवस्थापनका कारण आफूले हालेका योजनासमेत आफैले हेर्न नपाएको गुनासो सांसदले पोखे । अर्थमन्त्री जीतप्रकाश आलेले रातो किताव आउन अझै केही समय लाग्ने बताएका थिए । अर्थ मन्त्रालयका अनुसार सामान्यतयाः बजेट पारित नहु“दासम्म रातो किताव बाहिर ल्याइदैन् ।