मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजानिक भएपछि यतिबेला धमाधम सरकार बनेका छन् । केन्द्रमा नयाँ सरकार गठन भएसँगै प्रदेश तहमा पनि सरकार बनिसकेका छन् । निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातवटै प्रदेशले नयाँ सरकार पाएको छ । नयाँ सत्ता समीकरणबाट प्रदेश सरकारमा एमालेको पुनरागमन भएको छ भने चारवटा प्रदेशमा ठूलो दल भएर पनि कांग्रेस सत्ताबाहिर पुगेको छ । राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेश सरकारमा प्रवेश पाएका छन् ।
संविधानेको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि प्रदेशमा सरकार गठन हुन सकेनन् । कुनै पनि दलको एकल वहुमत नपुगेपछि उनीहरुलाई दुई या दुई भन्दा बढी दलको साहारा लिएर सरकार बनाउनु परेको हो । संविघानको धारा १६८ को उपधारा २ बमोजिम सातै प्रदेशमा सरकार गठन भएका छन् ।
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले, मधेसमा जसपा, वाग्मती र कर्णालीमा माओवादीको नेतृत्व
मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एमाले र माओवादीबीच आलोपालो नेतृत्वको सहमति
प्रदेश १ मा आइतबार, वाग्मती र गण्डकीमा सोमबार, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले, वाग्मती र कर्णालीमा माओवादी तथा मधेस प्रदेशमा जसपाले नेतृत्व गरेका छन् ।
प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्कीले सोमबार चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै मुख्यमन्त्रीको शपथ लिएका छन् । यहाँ १३ वटा मन्त्रालय रहेका छन् । मधेस प्रदेशमा बुधबार जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री नियुक्त यादव यसअघि सभामुख थिए । उनी संघीय सरकारमा पनि दुई पटक राज्यमन्त्री भइसकेका थिए । यहाँ १० वटा मन्त्रालय छन् ।
वाग्मतीको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । यहाँ १४ वटा मन्त्रालय रहेका छन् । गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकीमा १२ मन्त्रालय रहेका छन् । लुम्बिनीमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । कर्णालीमा माओवादीका पोलिटब्युरो सदस्य राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् । सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका छन् ।