२०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका–५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित भएका छन् ।
विरुवा गाउँपालिका– ३ को वडाध्यक्षमा माओवादी केन्द्रकी मनुकुमारी थापा र चापाकोट नगरपालिका–६ मा काँग्रेसकी तारा पोखरेल विजयी भएका हुन् । सामाजिक परिचालिकाको रुपमा काम गर्दै आएका दुवै जनाले राजनीतिमा फड्को मार्दै जनप्रतिनिधि भए । सामाजिक परिचालिका भएर गाउँमा काम गरिरहदाँ राजनीति मोह जागेको उनीहरु बताउँछन् ।
चापाकोट–६ की पोखरेल स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम (एलजिसिडीपी) अन्तर्गत चापाकोटमा काम गर्दै गर्दा पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएको उनले बताइन् । नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा गरेकी ४१ वर्षिया पोखरेलले नेपाल महिला संघ चापाकोटको सचिव भएर काम गर्दै आएकी छन् । ‘मलाई सानैदेखी राजनीति गर्ने इच्छा’ उनले भनिन, ‘गाउँमा बसेर काम गर्दा महिला नेतृत्व भए जनताको घरदैलोमा पुगेर साना–साना समस्या बुझ्छन् भन्ने लाग्थ्यो यसैले पनि प्रेरण मिल्यो ।’
२०५८ सालेदखी राजनीति यात्रा सुरु गरेकी पोखरेलले महिलालाई आर्थिकरुपमा कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्ने सुनाइन् । खानेपानी, विद्युत, बाटोको समस्या रहेको बताउदै उनले आधुनिक कृषि प्रणलीमा पनि वडामा भूमिका खेल्नुपर्ने बताइन् । नमुना वडा बनाउने योजना उनको छ । यस्तै, विरुवा ३ की मनुकुमारी थापा पनि राजनीति गर्दागर्दै जनप्रतिनिधि बनेको बताउछिन् । माओवादीको वडा अध्यक्ष हुदै जिल्ला सदस्य भएकी उनी लामो समयदेखी महिला संगठनमा काम गरेकी छन् ।
‘पार्टीको पनि जिम्मेवारी भूमिकामा छु’ उनले भनिन, ‘माओवादी भएर धेरै संर्घष गरे । जनयुद्धदेखी नै माओवादीमा लागे पनि खुलेर राजनीति भने शान्ति प्रकृयापछि नै गरेकी हुँ । घर परिवारले जनयुद्धमा धेरै दुःख गर्नुभयो । जसले राजनीतिमा होमिन बाध्य बनायो ।’ गाउँमा बसेर काम गर्दैगर्दा, जनताकै सेवामा खटिरहदा जनताले विश्वास गरेर जनप्रतिनिधि बनाइदिएको उनको भनाई छ । ‘अव झन् जिम्मेवारी बढेको छ’ उनले भनिन । विरुवा क्षेत्र जनयुद्धको बेलामा आधार क्षेत्र मानिन्थ्यो । स्याङ्जामा माओवादीले एउटा मात्र वडा जितेको छ । माओवादीबाट स्याङ्जाकै एकल जनप्रतिनिधि हुन मनुकुमारी । यसभन्दा अघिको स्थानीय निर्वाचनमा पनि माओवादीले स्याङ्जामा एउटा मात्र वडा जितेको थियो । गत वैशाखको निर्वाचनमा महिला नेतृत्वमा आउन सकेनन् । जिल्लाका ११ वटा पालिका प्रमुखमा महिला नेतृत्व एउटा छैन् । ९७ वडाका दुई अध्यक्ष मात्र महिला हुन् । मनुकुमारीले कृषिलाई प्रमुख प्राथमिकता दिएको बताइन् ।
गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षामा जोड दिने बताउदै उनले वडाबाट तल्लो तहका महिलालाई आत्मर्निभर बनाउन आफ्नो भूमिका रहने सुनाइन् । ‘बालिकालाई आत्मरक्षाको लागि के गर्न सकिन्छ ? यो पनि सोचिरहेको छु’ उनले भनिन । सदरमुकामबाट टाढा नभए पनि दुर्गम मानिने विरुवालाई नमुना वडा बनाउन आफू तत्पर रहेको उनले बताएकी छन् । विभिन्न सामाजिक संघसस्थामा काम गरेकी थापासंग भू–संरक्षणमा समाज परिचालक भएर काम गरेको अनुभव छ । रेडक्रस र सहकारीमा पनि उनले लामोसमय काम गरेकी थिइन् । जसका कारण आर्थिक क्रान्तिमा नै जोड दिनुपर्ने उनको धारण छ । निर्वाचनमा महिलाको भूमिका महत्वपूण मानिने भए पनि पार्टीले महिलालाई नेतृत्व तहमा पु¥याउन आनाकानी गर्दा महिला अध्यक्ष न्यून छन् । स्याङ्जाका दुई गाउँपालिका र एउटा नगरपालिकामा प्रमुख पदमा महिला उम्मेदवार बनाएको भए पनि तीनै जना पराजित भए । जसका कारण नेतृत्वमा पुरुषकै दबदबा हुन पुग्यो । गण्डकी प्रदेशका ८५ पालिकामा ७ सय ५९ वडा छन् । जसमा १८ वडामा मात्र वडाध्यक्ष पदमा महिला निर्वाचित भए । गण्डकीका केही पालिकामा महिला र दलित महिला सदस्य पद समेत खाली छ । हिमाली जिल्लाका २७ वडामा दलित महिला सदस्य र एउटा वडामा महिला सदस्य पद रिक्त छ ।
