सार्वजानिक विदाले सेवाग्राहीलाई मर्का

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखाको चुमनुव्रीबासीलाई सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम गोरखा बजार आइपुग्न पाँच दिन लाग्छ । हालसम्म मोटरबाटोको सुविधा नपुगेको चुमनुव्रीबाट सदरमुकाम आएर सरकारी काम लिएर फर्किदा अर्को पाँच दिन लाग्छ ।
सरकारी काम लिन १० दिन हिड्नुपर्ने त छदै छ अझ थपिएको सरकारी विदाले चुमनुव्रीबासीलाई सरकारी कामकाज लिन थप दुई दिन कुर्नुपर्ने बाध्यता बनाएको छ । सामागाउँका पासाङ शेर्पा भन्छन, ‘सदरमुकाम गएर एक दिनको सरकारी काम गर्न हामीलाई ११ दिन लाग्छ । अहिले सरकारले दिएको सार्वजानिक विदाले गर्दा दुई दिन थपिएको छ । सरकारी विदाका कारण हाम्रो आर्थिक खर्च पनि बढेको छ ।’ उनले सार्वजानिक विदाले आफूहरु मारमा परेको बताए ।
यस्तै, गण्डकीमा मोटरबाटोले नछोएको मनाङको नार्पाभूमि गाउँपालिकाका बासिन्दालाई पनि जिल्ला सदरमुकाम चामे आएर सरकारी सेवा लिन उस्तै सास्ती छ । भनिएको समयमा आउजाउ गर्न नसक्ने यहाँका बासिन्दालाई दुई दिन जान र फर्किन दुई दिन गरि चार दिन लाग्छ भने सरकारी कामको लागि छुट्टै एक दिन लाग्छ ।
चुमनुव्री र नार्पाभूमिका बासीलाई मात्र होइन, थप भएको सार्वजानिक विदाले आम सर्वसाधारणलाई समेत असर पारेको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारी सेवा लिन जनता दुर्गम क्षेत्रबाट मात्र होइन, अमेरिकाबाट पनि आउने भएकाले यसमा बढाईचढाई गर्न आवश्यक नरहेको बताए । ‘नेपालमा शनिवार मात्रै विदा दिने भएकाले यो नौलो लागेको हो’ उनले भने, ‘यसभन्दा पनि पहिले साताको दुई दिन विदा दिने निर्णय भएको नै थियो ।’ उनले सरकारले दिएको विदामा जतिसुकै टाढाबाट सेवाग्राही आए पनि सरकारी अड्डा बन्दै हुने बताए । काठमाडौंको एक कम्पनीमा कार्यरत स्याङ्जाको पुतलीबजार नगरपालिका–८ कोल्माका थमवहादुर गुरुङ आफ्नो जग्गाको कामले पोखरा आए । विहीबार साँझ पोखरा आएका उनी शुक्रबार काम सकेर रात्री बस अर्थात शनिवार विहान काठमाडौं जाने तयारीमा थिए । जग्गाको झन्झटिलो काम । उनले योजना बनाए अनुसार शुक्रबार आफ्नो काम सकाएनन् ।
शनिवार मात्र नभई आइतबार पनि पोखरा नै बस्नुपर्ने गुनासो उनको छ । ‘यो कस्तो बाध्यता ?’ आक्रोश पोख्दै उनले भने, ‘एक दिनको विदा लिएर आएको थिए चार दिन यही भुल्नुपर्ने भयो ।’ यदी आइतबार सार्वजानिक विदा नभएको भए उनी आइतबारै काम सकेर काठमाडौं फर्किन्थे । ‘पोखराको महंगी, होटलमा बस्नुपर्यो, खानै पर्यो’ उनले थपे, ‘न काम हुन्छ भन्ने ढुक्क छ । खाली खर्च मात्रै बढ्यो ।’ सार्वजानिक विदा कर्मचारीको लागि फाइदा भए पनि आफू जस्ता सेवाग्राहीका लागि समयको वर्वादि र खर्च बढाउने बाहेक अरु केही नरहेको उनले आक्रोश पोखे ।सेवाग्राहीको बढी भीड हुने मालपोत, नापी लगायतका कार्यालयमा विहान साढे नौ बजे र वेलुका ५ बजेपछि स्थलगत रिर्पोटिङको लागि कान्तिपुरकर्मी पुगेका थिए । मालपोत र नापी कार्यालय खुलेका भए पनि सेवाग्राही थिएनन् ।
१० बजे अघि नै उपस्थित भए पनि ठिक साढे नौ बजे कुनै कर्मचारी उपस्थित थिएनन् । नापी कार्यालयमा पनि शुक्रबार विहान कार्यालयका सवै कोठा खोलिएका थिए । फाट्फुट कर्मचारी, कार्यालय सहयोगी भए पनि सवै कर्मचारी उपस्थित भएनन् । नापी कार्यालयका एक कर्मचारी भन्छन, ‘सरहरु फिल्ड जानुभयो होला आउन समय लाग्छ ।’ मालपोत कार्यालयका प्रमुख राजेन्द्र पौडेलले निर्वाचनको समय भएकाले सेवाग्राही विहानै कार्यालय नआएको बताए । ‘सरकारले बनाएको नियम अनुसार हामी विहान साढे नौ बजे नै कार्यालय आएका छौ’ उनले भने, ‘शुक्रबार पनि बेलुका साढे ५ बजेसम्म बस्छौ ।’ सेवाग्राहीमा अझै पनि विहान १० बजे सरकारी कार्यालय खुल्छन् भन्ने मानसिकता छ । वेलुकाको समयमा भीडभाड भए पनि विहानपख कार्यालय सुनसान हुने पौडेलले बताए ।
वैशाख १४ मा बसेको संघीय मन्त्रीपरिषद्को वैठकले शनिवार जस्तै आइतबार पनि सार्वजानिक विदा दिने निर्णय गरेको थियो । मूलुकमा आर्थिक संकट परेको र इन्धन खपत कम गर्न भन्दै जेठ १ देखि लागू हुने गरि हप्तामा एक दिन सार्वजानिक विदा थप गरेको थियो । काठमाडौं उपत्यकामा शनिवार र आइतबार सार्वजानिक विदा दिने चलन भने विगतमा कार्यान्वयनमा आएको थियो । तर, सार्वजानिक सेवा संचालनमा कर्मचारीले ध्यान नदिएपछि त्यो निर्णय कार्यान्वयन भएन् । व्यवसायी सन्देश घिमिरेले विदा दिएर मात्र आर्थिक संकट व्यवस्थापन नहुने बताए । ‘हाम्रो जस्तो मूलुकमा दिनरात गरेर चौविसै घण्टा काम गर्नुपर्ने हो । तर, त्यसको विपरीत कर्मचारीको दवाव र प्रभावमा सार्वजानिक विदा थप्ने काम भएको छ’ घिमिरेले भने, ‘यो प्रत्योत्पादक हो ।’ विकसित देशमा सातामा दुई दिन सार्वजानिक विदा दिने चलन छ । तर, दक्षिण एशियाली देशमा भने सातामा एक दिन मात्र सार्वजानिक विदा दिने चलन रहेको घिमिरे बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *