सिदार्थ राजमार्गका खाल्डाखुल्डी पुर्दै

Share this post :

Facebook
Twitter
WhatsApp

अस्तव्यस्त सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अन्तर्गत पछिल्लोसमय जोखिम बढ्दै गएपछि खाल्डाखुल्डी पुर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राजमार्गमा जोखिम थपिदै गएपछि सवारी दुर्घटना कम गर्नको लागि खाल्डाखुल्डी पुर्ने अभियान चलाएको हो । राजमार्ग आसपासका पालिकासंगको समन्वयमा सडक मर्मतको काम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार राजमार्गका खाल्डाखुल्डी पुर्नको लागि जिल्लाभर १७ वटा टोली परिचालन गरिएको छ । नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, नगरपालिकाका कर्मचारी लगायतको सहभागितामा राजमार्गको मर्मत गर्ने काम गरिएको उनले बताए । बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा ठूलो क्षती भएपछि प्रशासन कार्यालयले पालिकाको समन्वयमा अभियान नै थालेको हो । राजमार्गले छोएका पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा सरसफाईदेखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित भएका थिए । देशकै पुरानो र तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जिर्ण बन्दै गएको युवा व्यवसायी नवराज सुवेदीले बताए ।
‘दुई प्रदेश जोड्ने, नाम भन्नुपर्दा राजमार्ग’ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष समेत रहेका सुवेदी भन्छन, ‘जोखिम धेरै छ । पोखराको पृथ्वीचोकसम्म जोडिएको यो सडक कहिकतै राम्रो छैन । राजमार्गमा यात्रा गर्नु भनेको ज्यानलाई जोखिम राख्नु हो । सडकको क्षमता भन्दा ठूला सवारी साधन कुद्छन् । यातायातको संख्या थपिदै गएको छ राजमार्गको अवस्था उस्तै छ ।’ अहिले राजमार्ग पुर्ने भनिएपनि रातो माटो विच्छ्याइएको उनले बताए । सा“घुरा र घुम्ती सडकमा माटोले झन् जोखिम निम्त्याउने उनले बताए । राजमार्गबाट शाखा सडक खोल्दा आवात जावतमा समेत सवारी साधनलाई समस्या हुदै आएको उनले बताए । ‘सडक दुर्घटना पनि बढ्दो छ’ उनले थपे । कास्की सीमाना कुविण्डेदेखी पाल्पाको सीमाना राम्दीसम्मका खाल्डाखुल्डी पुर्न लागिएको प्रजिअ पौडेलले बताए । ‘साना–ठूला सवै खाल्डा क्रमश पुर्दै गएका छौ’ उनले भने, ‘यसले गर्दा पनि दुर्घटना कम हुन्छ । जोखिम पनि कम भएको छ ।’
पौडेलले गिट्टी, वालुवा र माटो मिलाएर खाल्डा पुरिएको बताए । जिल्लास्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेको थियो । कास्कीको सिमाना कुभिण्डेदेखि लुम्बिनी प्रदेशको सिमाना राम्दीसम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्नुका साथै शाखा सडकको पनि सफाई र मर्मत गर्ने काम शुरु गरिएको प्रजिअ पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भएर स्याङ्जा आएपछि पौडेलले पहिलो निर्णय राजमार्गको जोखिम कम गर्ने निर्णय गरेका थिए । सो अनुसार पालिका प्रमुखसहित प्रहरी, प्रशासनको टोली राजमार्गको मर्मतमा जुटेको हो ।
अभियानलाई निरन्तरता दिने प्रशासन कार्यालयले जनाएको छ । स्याङ्जाभित्र करिव ८० किलोमिटर रहेको सिद्धार्थ राजमार्ग संरक्षण गर्नुपर्ने भएपनि सरोकारावाला निकायको भने ध्यान नपुगेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए । कतिपय स्थानमा राजमार्ग फराकिलो पार्ने भनेर डोजर लगाएपनि पूर्णरुपमा ढुंगा, माटो नफालिनु, नाली सफा नहुनु जस्ता समस्याले पनि स्थानीयले हैरानी व्यहोर्नुपरेका थियो । बर्षैदेखी अलपत्र र निमार्ण हुन नसकेर असहज यात्रा गर्न बाध्य रहेको राजमार्गलाई सहज बनाउने काम पहिलोपटक भएको स्थानीयको भनाई छ । यसलाई निरन्तरता दिनुपर्ने पुतलीबजार निवासी विमला क्षेत्रीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *