सीटीईभीटीले लियो रोकिएको प्रवेश परीक्षा

Share this post :

Facebook
Twitter
WhatsApp

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८०–८१ का लागि प्राविधिक शिक्षा अध्ययनका लागि आह्वान गरेको वर्गीकृत निःशुल्क छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरेको छ । साउन २० गतै नै तय भएको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शिक्षा (स्वास्थ्य समूह) तर्फका कार्यक्रमको कोटा निर्धारण हुन नसकेपछि स्थगित भएको थियो ।

आयोगबाट कोटा निर्धारण भएपछि भर्ना प्रक्रिया सुरु गरिएको परिषद्का परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए । सीटीईभीटीबाट सम्बन्धन लिएर सञ्चालन हुँदै आएका शिक्षण संस्थामा प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्न २० हजार १ सय ६६ जनाले आवेदन दिएकामा १८ हजार २ सय ५१ जनाले प्रवेश परीक्षा दिएका थिए । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले देशभर विभिन्न ३५ वटा परीक्षा केन्द्र कायम गरी सञ्चालन गरिएको जनायो । परीक्षामा ५ हजार ५१० जनाले निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् ।

यसै कार्यक्रमअन्तर्गत पूर्ण शुल्कीयतर्फका परीक्षामा इन्जिनियरिङ, कृषि र वन, होटल व्यवस्थापनतर्फ भदौ ६ गते र स्वास्थ्यतर्फ भदौ ९ गते शनिबार हुने जानकारी नियन्त्रक आचार्यले दिएका छन् । आगामी दिनमा समेत नेपाल सरकारको स्वीकृत कार्यक्रमअनुसार परिषद्ले प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका स्थानीय तहका विद्यार्थी र दलित, मुस्लिम, विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी ६ सय जनालाई आवासीय सुविधासहितको विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको आचार्यले बताएका छन् । उनका अनुसार सो कार्यक्रममा सहभागिताका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *