लमजुङको दुधपोखरी गाउँपालिका बलेडाँडा निवासी एक महिलालाई शनिवार सुत्केरी व्यथाले च्याप्यो । उनको गाउमा सुत्केरी गराउने व्यवस्था भएन । रिंगटा लाग्ने, रगत बग्ने, भुइँमा ढल्ने जस्ता समस्या देखिएपछि उनको परिवार घरमै सुत्केरी गराउन डरायो । उपचारको लागि पोखरा ल्याउने कुरा आफन्तबीच भयो ।
घर वरिपरीका गाउँलेले गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फोन गरेर सुत्केरीको उद्दारको लागि हेलिकोप्टर पठाउन अनुरोध गरे । तर, सुत्केरी उद्दारको लागि मन्त्रालयले हेलिकोप्टर पठाउन सकेन् ।
मन्त्रालयको स्रोतको अनुसार सुत्केरीलाई उपचार गराउन लैजानुप¥यो भनेर फोन साँझमा आएकाले हेलिकोप्टर पठाउन सकिएन् । यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिवाङकी महिलाको सुत्केरी उद्दारको लागि प्रदेश सरकारले हेलिकोप्टर पठाउन सकेन् । यी केही उदाहरण मात्र हुन् । प्रदेश सरकारले २०७५/७६ देखी गर्भवती तथा सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्पताल लैजाने गरि ‘एयर लिफटिङ’ कार्यक्रम संचालनमा ल्याएको थियो । सो कार्यक्रम सरकारले प्राथमिकता दिएपनि प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालय स्वंम बताउँछ । प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले सरकारको कार्यक्रम राम्रो भएपनि जनतासमक्ष यसको बारेमा जानकारी नभएको बताए । प्रदेश नीति तथा योजना आयोगको गोष्ठिमा बोल्दै उनले यो कार्यक्रम प्रभावकारी नभएको बताए ।
‘जनताले सुविधा पाउनै सकेका छैनन्’ उनले भने, ‘सरकारले हेलिमार्फत सुत्केरी र गर्भवतीको उद्दार गर्छ भन्ने अझैपनि गाउँघरमा जानकारी छैन् । यो कार्यक्रम घरघरमा पु¥याउनुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म (४ बर्षमा) ४५ जनाको उद्दार भएको छ । जसमा १ जनाको मृत्यु भएको मन्त्रालयका कम्प्युटर अपरेटर प्रकाश बरालले जानकारी दिए । बरालका अनुसार चालु बर्षमा १ जना सुत्केरीको मात्र उद्दार भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ याङगी गुरुङको उद्दार भएको हो । उनको लागि २ लाख रुपैयाँ खर्च भएको लेखा अधिकृत इन्द्रकमल सिग्देलले बताए ।
सरकारले अहिलेसम्म १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु बर्ष २०७८÷७९ मा प्रदेश सरकारले सुत्केरी र गर्भवती महिलाको उद्दारका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, २०७७/७८ मा ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा २८ जनाको उद्दार गरिएको छ भने, २०७६/७७ मा २२ लाख रुपैयाँ विनियोजन गरेको थियो भने, १६ जनाको उद्दार गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७५/७६ मा नै हेलि उद्दार कार्यक्रम ल्याएको भएपनि प्रभावकारी हुन नसकेको स्वास्थ्यमन्त्री मधुमाया अधिकारीका नीजी सचिव शम्भु चापाँगाईले बताए ।
‘मन्त्रीज्युले मन्त्रालयको जिम्मेवारी समाल्नेवित्तिकै एयर लिफटिङ कार्यक्रमको अध्ययन गर्नुभएको थियो’ उनले भने, ‘यसभन्दा अघिको सरकारले प्रचारप्रसार गरेपछि सामान्य परिवार सुविधाबाट बन्चित बनेको देखिन्छ । दुर्गम, गाउँगाउँमा एयर लिफटिङ कार्यक्रमबारे जनतालाई थाहा नै छैन् ।’ उनले यस कार्यक्रमलाई प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताए । हालसम्म म्याग्दी, मुस्ताङ, गोरखा र बाग्लुङ जिल्लामा बढीजसो हेलिकोप्टरको सहायताबाट सुत्केरी महिलाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।
सडक र एम्बुलेन्सको सेवा नपुगेको ठाउँमा मात्र हेलिकप्टरको प्रयोग गरिने मन्त्रालयले बतायो । हेलिकोप्टरको सहायताबाट गर्भवती महिलाको मात्र नभई नवजात शिशु (जन्मिएको २८ दिनभित्र) लाई जटिलता उत्पन्न भएमा पनि साधन सम्पन्न अस्पतालमा ल्याई उपचार गरिने चापाँगाईले बताए । ‘महिलासंगै नवजात शिशुको पनि उद्दार गरिएको छ’ उनले भने, ‘जसले गर्दा गर्भवती महिला र नवजात शिशु मृत्यु हुनबाट जोगिएका छन ।’ हेलिकोप्टरको लागि स्थानीय तहले जिल्ला अस्पताल र जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्नुपर्ने हुनेछ ।
मन्त्रालयले हेलिकोप्टर पठाउन आवश्यक छ या छैन बुझेर मात्र पठाउने उनको भनाई छ । ‘प्रकृया लामो भएकाले पनि समस्या उत्पन्न भएको छ’ उनले भने । ‘प्राथमिक स्वास्थ्य चौकी, अस्पतालमा दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, भवनको प्रवन्ध मिलाई गर्भवती भएको बेलामा जटिलता उत्पन्न भएमा बासास्थानको निर्माण गरी निगरानी र उपचार गराउन जरुरी छ’ उनले थपे ।
विवाह गर्ने उमेर नपुग्दै सुत्केरी
सामान्यतयाः विवाह गर्ने उमेर महिलाको लागि २० बर्ष तोकिएको हुन्छ । तर, यहाँ भने सुत्केरी हुनेको उमेर हेर्ने हो भने विवाह गर्ने उमेर पनि पुगेको भेटिदैन । यो घटना गण्डकी प्रदेशको हो । सानो उमेरमा नै विवाह गर्ने र सुत्केरी हुदाँ बढी जोखिम मोल्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुत्केरी महिलालाई हेली उद्दार कार्यक्रममार्फत उद्दार गरिएका महिलाको उमेर हेर्दा पनि कलिलै देखिने मन्त्रालयले बतायो । केही समयअघि हेलीमार्फत उद्दार गरिएकी आइकुमारी विकको उमेर जम्मा १८ बर्ष थियो ।
यस्तै, ओममाया भण्डारीको २० बर्ष । गतपुसमा उद्दार गरिएकी बाग्लुङको ढोरपाटनकी पार्वती विकको पनि उमेर १७ थियो । सोही ठाउँकी इश्वरी बुढाको उमेर पनि १९ बर्षको थियो । यी केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन । विवाह गर्ने उमेर नपुग्दै सुत्केरी हुदा बढी जोखिम हुने चिकित्सक बताउछन । चिकित्सकका अनुसार २० बर्ष नपुगेका महिलाको शारीरिक अंग पूर्ण रुपमा भइसकेका हुदैनन ।