सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा सम्पर्कमा रहेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित करिब एक सय जनासँग प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले सोधपुछ गरेको छ ।
सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीले उनीहरुलाई सोधपुछ गरेको हो ।सीआईबीले आज दिउँसो पुन र अधिकारीलाई बोलाएर सोधपुछ गरेको बताइएको छ । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दिपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।
यता, विभागका अधिकारी पनि टेलिफोन सम्पर्कमा जोडिएको भेटिएपछि गृहमन्त्रालय तानिएका छन् । अधिकारीसहित विमानस्थल भन्सारका कार्यरत कर्मचारी र शंकास्पद अन्य व्यक्तिलाई पनि सीआईबीले केही बोलाउँदै सोधपुछ गरिरहेको छ ।