सुरक्षाकर्मी खटाएर लामेआहालमै फोहोर विसर्जन

Share this post :

Facebook
Twitter
WhatsApp

१२ दिनदेखी संकलन नभएको पोखराको फोहर मंगलबार विसर्जन गरिएको छ । स्थानीयको अवरोधका कारण लामोसमयदेखि पोखराको फोहोर उठाइएको थिएन् । मंगलबार ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरि फोहोर व्यवस्थापन गरिएको हो । अस्थायी ल्याण्डफिल्ड पोखरा–३२ लामेआहालमा नै फोहोर व्यवस्थापन गरिएको हो ।

महानगरका २९ वटा वडाबाट एकै साथ ३० गाडीमा फोहोर लगेका थिए । दिनभर ३० वटै ट्रकले फोहोर ओसार्नेछन् । फोहोर फाल्नेबित्तिकै माटोले नपुरेको, दूर्गन्ध हटाउने रसायन नछरेको, निर्माण कार्य सम्झौताबमोजिम नगरेको भन्दै स्थानीयले साउन १० गतेबाट फोहोर लैजान अवरोध गरेका थिए । महानगरपालिकाले यसभन्दा अघि गरिएका १६ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीयबासीको माग छ । स्थानीयले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पोखरामा रिट समेत दायर गरेका थिए । अदालतले आइतबार हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाउँदै भदौ १९ लाई अर्को पेसी तोकेको छ ।

अदालतको आदेसंगै सोमबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको वैठक बसेको थियो । वैठकले लामेआहालमै फोहोर फाल्ने, फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गर्न आएमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गर्यो । स्रोतका अनुसार सुरक्षाकर्मीमार्फत बल प्रयोग गरेर भए पनि फोहोर फाल्ने निर्णय भएको थियो । मंगलबार बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ल्यान्डफिल साइट क्षेत्रमा तैनाथ थिए । अविरल वर्षाकै बीचमा फोहोरका गाडी आउन थालेपछि स्थानीयले केहीबेर नाराबाजी गरेका थिए । महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले स्थानीयको १६ बुँदे माग कडाइका साथ पालना गर्न महानगरपालिका प्रतिवद्ध रहेको बताएका छन् । महानगरमा हाल दैनिक २ सय टन फोहोर उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *