सोती घटनामा संलग्न २४ जनालाई जन्मकैद

Share this post :

Facebook
Twitter
WhatsApp

अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर रुकुमका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय तोकेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा साढे तीन वर्षअघि भएको उक्त घटनामा संलग्नलाई कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दा दर्ता गरिएको थियो ।
उक्त मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि सुनुवाइ सुरु भएको सो मुद्दामा मंगलबार अन्तिम आदेश आएको हो । २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथी लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो । नवराजका १२ जना साथी घाइते भएका थिए । घटनामा नवराजसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । ६ जनाको शव दुुई सातापछि भेरी नदीको किनारमा भेटिएको थियो ।
घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । आरोपीत ८ जनाले भने सफाइ पाएका छन् । २३ जना पूर्पक्षका लागि कारागारमा थिए । बाहिर रहेका ११ मध्ये एक जनालाई जन्मकैद, दुई वर्ष कैद ५० हजार जरिवाना हुने छ । अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ ।
किशोरीकी आमा धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान थिए । ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो । नवराजका बुबा मुनलाल नेपालीले जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *