युवा अभियानकर्ता, समाजसेवी तथा स्तम्भकार दिनकर नेपाल नेपाली काँग्रेस प्रवेश गरेका छन् । स्याङ्जा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङको उपस्थितिमा नेपालले पार्टी प्रवेश गरेका हुन् ।
भारतीय सेनामा मेजर पदबाट राजिनामा दिई नेपाल फर्केका दिनकर नेपाल एक दशक भन्दा बढी समयदेखि राजनितिक विश्लेषण र स्तम्भ लेखनमा सक्रीय छन्। राजनितिमा युवाहरुको सक्रीय भुमिकाबाट नै अबको रुपान्तरण सम्भव छ भन्ने विचारधाराको निरन्तर पैरवी गर्दै रहेका नेपाल पछिल्लो समय आफ्नो गृहनगर वालिङ नगरपालिकामा विभिन्न कार्यक्रममार्फत सक्रीय छन् ।

दिनकर नेपालले वालिङ नगर पालिकाका नगर प्रमुख दिलीपप्रताप खाँडको सल्लाहकारको भुमिकामा एकवर्ष काम गरेका थिए । उक्त समयमा उनले वन्डरफूल वालिङ पर्यटन विकास संस्थामार्फत वालिङ १०० भन्ने अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामार्फत वालिङलाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउने अभियान चलाएका थिए ।
हाल ‘हिमाली : मेड बाई मदर्स’ भन्ने कम्पनीमार्फत ४ वटा गाउँमा ३० जना महिलालाई रोजगारी दिई रहेका नेपाल वालिङ -५ चिसापानीमा कृषि कर्ममा पनि सक्रीय छन् । हाल उनले अभोकाडो, ड्र्यागन फ्रूट र मौरीपालन शुरु गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले उनलाई स्वागत गर्दै दिनकर नेपाल जस्ता विद्वान, अनुभवी र कर्मठ युवा नेपाली काँग्रेसमा आउनु अब काँग्रेस युवाहरुले डोर्याउने लक्षणको संकेत हो भनेर भनेका छन् । उक्त कार्यक्रममा गन्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, युवा नेता तथा राजनितिक विश्लेषक शंकर तिवारी लगायत अन्य पदाधिकारी र कार्यकर्ताको उपस्थिति थियो।
‘नेपाली काँग्रेस जस्तो गौरवशाली ईतिहास भएको र नेपालको हरेक राजनितिक संकटमा समाधानमुखि भुमिका निर्वाह गरेको यो परिवारमा ठाउँ पाउनु मेरो अहोभाग्य मानेको छु । बीपीका विचारले मार्गदर्शन गरेको र लाखौं कार्यकर्ताहरुको बलिदानले बनेको यो विरासतलाई सक्दो न्याय गर्ने अठोटका साथ यो यात्रामा होमिएको छु’ नेपालले उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै भने ।