स्मार्ट सिटीको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको वालिङ नगरपालिकाले नेतृत्वमा एमालेका कृष्ण खाँणलाई पाएको छ । निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाकै निवर्तमान मेयर काँग्रेसका दीलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि पार्दै नेतृत्वमा एमालेका खाँण विजयी भएका हुन् । बुधबारको अन्तिम परिणम अनुसार विजयी खाँणले १३ हजार ७ सय ७६ मत प्राप्त गर्दा उपविजेता खाँणले ११ हजार ५ सय ९३ मत ल्याए । यस्तै, उपमेयरमा कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् ।
प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतान्तरले पछि पार्दै विजयी तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गरिन् । थापाले भने, १२ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् । थापा यसअघि २०७४ को निर्वाचनमा कांग्रेसकी कल्पना तिवारीसंग पराजित बनेकी थिइन् । वालिङका १४ वडामध्ये कांग्रेस ६ र एमाले ८ वटामा विजयी भएको छ । निर्वाचन सचिवालयका अनुसार वडा नम्बर १ मा कांग्रेसका पदमराज गुरुङ, २ मा कांग्रेसका पोतबहादुर लम्साल, ३ मा एमालेका भीमबहादुर गुरुङ, ४ मा एमालेका हरिप्रसाद खनाल, ५ मा कांग्रेसका छवि आले, ६ मा एमालेका श्यामकृष्ण श्रेष्ठ, ७ मा एमालेका पाण्डुकुमार थापा, ८ मा एमालेका दामोदर तिवारी, ९ मा एमालेका अमृत श्रेष्ठ, १० मा कांग्रेसका सुनिल खनाल, ११ मा कांग्रेसका डण्डापानी पंगेनी, १२ मा एमालेका विश्वजंग गुरुङ, १३ मा एमालेका नमलाल डुम्रे र १४ मा काँग्रेसका राजु कुँवर विजयी भएका छन् ।
