यहाँको गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले पछाडि पार्दै विजयी घोषित भएका हुन् । गैह्रे एमाले स्याङ्जाका अध्यक्ष हुन् । एमालेको पकड क्षेत्र मानिने गल्याङमा भट्टराईले ९ हजार ६ सय २१ मत ल्याएका छन् भने, गैह्रेले ८ हजार ९ सय २२ मत ल्याए । यस्तै, उपमेयर पदमा काँग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन् । प्रमुख प्रतिद्धन्द्धी एमालेकी देवीसरा थापालाई ६३ मतको अन्तरमा थापालाई पराजित गर्दै उनी विजयी घोषित भएकी छन् । निर्वाचन अधिकृत काशीराम गैरेका अनुसार न्यौपानेले ९ हजार १ सय १८ मत ल्याएकी छन् भने थापाले ९ हजार ५५ मत प्राप्त गरेकी छन् ।
यस्तै गल्याङ नपाका वडाहरुमा क्रमश १ मा काँग्रेसका मणि बस्याल, २ मा एमालेका अशोक थापा, ३ मा कांग्रेसका कृष्ण भट्टराई, ४ मा कांग्रेसकै ढाकाराम न्यौपाने, ५ मा एमोका घनश्याम भट्टराई, ६ मा कांग्रेसका दीप गुरुङ, ७ मा एमालेका झविलाल पाण्डे, ८ मा एमालेकै झिमबहादुर थापा, ९ मा कांग्रेसका नामदेव खनाल, १० मा कांग्रेसका मुक्ति खनाल र ११ मा एमालेका दलबहादुर सिंजाली विजयी भएको निर्वाचन अधिकृत गैरेले बताएका छन् ।
