स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो ।
गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जनाए । ‘गण्डकी प्रदेशको ६५ प्रतिशत बिउ आलु उत्पादन हुने गल्याङ नगरपालिकाका कृषकलाई प्रोत्साहन गर्नुु हाम्रो मुख्य लक्ष्य हो’ उनले भने ।
उनले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर र रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्नका लागि प्रदर्शनीको आयोजना गर्नुलाई आफ्नो दायित्व सम्झिएको बताएका छन् ।
आयोजकका अनुसार प्रदर्शनीमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य दर्शक एंव पर्यटक भित्र्याउने तथा दर्शकलाई आकर्षित गर्न विभिन्न प्रदर्शनी राखिएको छ । प्रदर्शनीमा गल्याङमा नै उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बिउ, बेर्ना, धान, गहुँ, मकैको विउ एवम् अदुवाको प्रदर्शनी तथा विक्री वितरण गरिने कृषि प्रदर्शनी संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले बताए ।
यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयबाट विभिन्न उत्कृष्ट नृत्य प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । यस कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने छ । प्रदर्शनीमा सबै कृषिसँग सम्बन्धित २० वटा मुख्य स्टल तथा आवश्यकताको आधारमा थप स्टल निर्माण गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
गल्याङ नगरपालिका–३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा हुने प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य राखिएको बताइएको छ ।
प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न १०१ सदस्यीय मूल समिति बनाइएको छ भने विभिन्न १४ वटा उपसमिति पनि गठन गरिएको छ ।
