प्राङ्गारिक कृषिबारे स्थानीय जनप्रतिनिधी र सरोकारवालाको क्षमता बढाई स्थानीय तहबाटै दिगो सञ्चालनका लागि १ दिने अन्तरकृया गोष्ठी आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।
आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले हाम्रो बिगतको नियमित पेशा स्वस्थ कृषि उपज उत्पादनलाई अहिले जथाभावी रासायनिक मल र बिषादीले दिनानुदिन बिगारहेको अवस्थामा यो कार्यक्रमले स्थानीय सरकारलाई पुनः सोच्नको लागि घचघच्याएको र भविष्यमा प्राङ्गारिक कृषिलाई व्यवसायिक पेशाको रुपमा प्रवर्धन गरेर रासायनिक मल र बिषादिको अभाव हुने स्थिति र यसले हुने हानीलाई रोक्नको लागि टेवा पुग्नेमा आशाबादी रहेको बताए ।
कार्यक्रममा प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा भएको प्रगतीका बारेमा चर्चा गरिएको थियो । यसै क्रममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका हरीप्रसाद ढकालले स्याङ्जामा प्राङ्गारिक कृषि उपलब्धि, चुनौती र सिकाई, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले प्राङ्गारिक कृषि बाली उत्पादन के किन र कसरी, बजार पोखराका तुलसी गिरीले प्राङ्गारिक उत्पादनको संभावना र प्राङ्गारिक प्रमाणिकरणमा पिजिएस साथै कृषि बजारलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम बारे डेनमार्कका कृषि अर्थ बिज्ञ डा पाउल राय कडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आस्क नेपाल स्याङ्जाका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा आयोजित उक्त गोष्ठीमा स्वागत आस्क नेपाल काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लाद प्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको औचित्य र त्रिकोण डेनमार्कको नेपालमा सहयोगबारे त्रिकोण डेनमार्कका नेपाल संयोजक रबिन बोगटीले प्रकाश पारे ।
