वैशाख–३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना स्याङ्जामा सम्पन्न भएको छ । बुधबार दिउँसो चापाकोट नगरपालिकाको नतिजा सार्वजानिक भएसंगै जिल्लाभरिकै मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टी काँग्रेस र एमाले रहे । नगरपालिकामा काँग्रेसको वर्चश्व देखिएको छ भने एमालेको गाउँपालिकामा । मतगणनाको अन्तिम परिणम अनुसार स्याङजाका एघार पालिकामध्ये १० वटामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन् भने, वालिङ नगरपालिकामा एमाले र काँग्रेस निर्वाचित भए ।
वालिङमा नगरप्रमुख कृष्ण खाँण विजयी भएका छन् । उनी एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । पूर्व मेयरसमेत रहेका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतले हराउदै उनले विजयी हाँसिल गरे । यस्तै, उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएकी छन् । एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतले उछिन्दै उनी उपमेयरकी विजेता बनिन् । खगिसरा यसभन्दा अघि पनि उपमेयरको उम्मेदवार बनेकी थिइन् । काँग्रेसकी कल्पना तिवारीसँग पराजय बनेकी थापाले यसपटक पनि सफलता हात पार्न सकिनन् । २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगर प्रमुख र उपप्रमुख काँग्रेसबाटै विजयी भएका थिए । काँग्रेसको गण मानिने वालिङले पहिलोपटक आफ्नो साख गुमाएको छ । यस्तै चापाकोट नगरपालिकामा काँग्रेसबाटै मेयर र उपमेयर विजयी भए ।
एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै काँग्रेसका देववहादुर खाँण विजयी भएका छन् । उपमेयरमा एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै इशा राना विजयी भइन् । यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा चापाकोटमा प्रमुख र उपप्रमुख काँग्रेसबाटै प्रतिनिधित्व रहेको थियो । अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जितेको पुतलीबजारमा भने यसपटक दुवै पदमा काँग्रेसले विजयी हात पारेको छ । प्रमुख प्रतिस्पर्धी एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउदै तुलसीराम रेग्मी विजयी भए । क्षेत्री निवर्तमान मेयर हुन् । अघिल्लो निर्वाचनमा तुलसीरामलाई हराउदै सीमा मेयरमा निर्वाचित भएकी थिइन् । यस्तै, उपमेयरमा ९ सय ४७ मतले एमालेका महेश पुरीलाई पछाडि पार्दै देवी अर्याल विजयी भइन् । पुरी निवर्तमान उपमेयर हुन् । एमालेको लाल किल्ला रहेको पुतलीबजारमा काँग्रेसले पहिलोपटक सफलता हात पारेको काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले बताए । एउटा वडा आफूले लिने गरि पुतलीबजारमा काँग्रेसलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।
गल्याङ नगरपालिकामा २०७४ मा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेको प्रतिनिधित्व रहेको थियो । अहिलेको निर्वाचनमा काँग्रेसका उम्मेदवार मेयर र उपमेयरमा विजेता भए । जिल्ला अध्यक्ष समेत रहेका एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले हराउदै गुरुप्रसाद भट्टराई विजयी भएका हुन् । भट्टराई काँग्रेस पार्टीका जिल्ला सचिव हुन् । निवर्तमान उपमेयर एमालेकी देवीसरा थापालाई ६३ मतले पछि पार्दै उपमेयरमा हेमा न्यौपाने विजयी भइन् । गल्याङ पनि एमालेको आधार क्षेत्र मानिन्छ । यसभन्दा अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा विजयी भएको काँग्रेसले यसपटक पनि भीरकोटमा आफ्नो विरासत कायम राख्यो । मेयरमा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै गोविन्दकुमार कर्माचार्य विजयी भए । एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पछाडि पार्दै भगवती रेग्मी अर्याल विजयी भइन् । भीरकोट काँग्रेसको आधार क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा अर्जुनचौपारी गाउँपालिका उपप्रमुख गुमाएको काँग्रेसले यसपल्ट कायम गर्यो । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवार विजयी भए । निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै अध्यक्षमा प्रकाश तिवारी विजयी भएका छन् भने, एमालेका टंकप्रसाद खनाललाई १ हजार ६० मतले पछाडि पार्दै सपना गुरुङ उपाध्यक्षमा विजयी भइन् । अघिल्लोपटक अध्यक्ष पनि काँग्रेसबाटै निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा अध्यक्ष÷उपाध्यक्ष जितेको एमालेले यसपल्ट पनि विरुवामा आफ्नो मत कायम राखेको छ । विरुवा गापाका काँग्रेस सभापति समेत रहेका डोलराज पोखरेल काँग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका थिए । १ सय २६ मतले पोखरेल उपविजेता बने । एमालेका सूर्य कुवँर अध्यक्षमा विजयी भए । माओवादीका थमबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी बनिन् । यहाँ काँग्रेस माओवादीको गठबन्धन थियो । एमालेको पकट क्षेत्र मानिने विरुवामा यसभन्दा अघिल्लो निर्वाचनमा पनि काँग्रेस, माओवादीको गठबन्धनलाई तोड्दै विजयी बनेको थियो । आँधीखोला गाउँपालिकाले यसपटक पनि एमालेकै नेतृत्व पाएको छ । अघिल्लो निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार विजयी भएका थिए । अहिले एमालेका विश्व पौडेलले काँग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पराजित गरे । उपाध्यक्षमा एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतले एमालेकी सीता थापाले पराजित गरिन् । यहाँ समाजवादी र काँग्रेसको गठबन्धन गरिएको थियो ।
यस्तै, काँग्रेस र माओवादीको गठबन्धन तोड्दै फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेका छन् । काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले पछाडि पार्दै अध्यक्षमा एमालेका घनश्याम सुवेदी र उपाध्यक्षमा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतले पछाडि पार्दै एमालेकी देउकुमारी गुरुङ निर्वाचित भए । अघिल्लो निर्वाचनमा पनि फेदीखोलामा एमालेकै उम्मेदवार निर्वाचित थिए । सुवेदी अघिल्लो निर्वाचन पनि अध्यक्ष निर्वाचित भएका थिए भने गुरुङ ५ नम्बरकी वडाध्यक्ष थिइन् । त्यस्तै, कालीगण्डकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेकै प्रतिनिधित्व रहेको थियो । पूर्व अध्यक्षसमेत रहेका खिमबहादुर थापा पुनः अध्यक्षमा विजयी भएका हुन् । काँग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतले पछि पार्दै उनी विजयी घोषित भए । यस्तै, उपप्रमुखमा पनि पुनः सावित्रा कोइराला नै विजयी भइन् । राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेलाई १ हजार ३ सय ९३ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् ।
काँग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै हरिनासमा पुनः खिमनारायण मानन्धर अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनले काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले हराए । अघिल्लो निर्वाचनमा पनि गठबन्धनलाई हराउदै विजेता बनेका थिए मानन्धर । यसैगरी, उपाध्यक्षमा माओवादीकी मिठु लम्साललाई २४ मतले हराउदै एमालेकी इन्द्रकुमारी थापा विजयी बनेकी छन् । अघिल्लो निर्वाचनमा पनि हरिनासमा अध्यक्ष र उपाध्यक्ष एमालेकै पोल्टामा थियो । माओवादीको राम्रो मानिने हरिनासमा दुईवटै निर्वाचनमा माओवादी र काँग्रेसले सफलता हात पार्न सकेनन् ।
