भर्खरै मात्र दर्ता भएको गैर–नाफामुखी कम्पनी (स्याङ्जा थिंक ट्यांक)ले अब आउने वर्ष स्याङ्जामा स्टार्ट अप फेस्टिभल आयोजना गर्ने घोषणा गरेको छ । आज काठमान्डौमा भएको सद्भाव समूहको अन्तर्कृया कार्यक्रममा संस्थाकोतर्फबाट फेस्टिभलका डाइरेक्टर उदय अधिकारीले अवधारणाको अनावरण गरेका थिए ।
दिनकर नेपाल अध्यक्ष रहेको यस संस्थामा जनस्वास्थ्य अध्यता किरण तिवारी, सीए भोजन अर्याल, सीए सुनील कार्की, सीए गोविन्द पंगेनी, व्यवस्थापन शिक्षक विबेक बस्याल र इन्जिनीयर तथा बीमा विग्यउदय अधिकारी संस्थापक रहेका छन् । शिक्षा, सुशासन, उद्यमशीलता प्रवर्धन, कृषि रुपान्तरण आदि क्षेत्रमा विभिन्न छलफल, अन्तर्कृया कार्यक्रम गराईरहेको यस संस्थामार्फत यो पहिलो भौतिक कार्यक्रम गरिएको हो ।
संस्थाका सल्लाहकार तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना स्याङ्जाका प्रमुख माधव लम्सालले संस्थाले गर्न लागेको उद्यम सहजीकरण मिसनको एप्रोचमार्फत छिटो र छरितो इनोभेटिभ तरिकामा कृषिमा उद्यमशीलता प्रवर्धन गर्ने आशा देखिएको बताए । संस्थाका अध्यक्ष दिनकर नेपालले यस संस्थाका विभिन्न्न पहलले ग्रासरुट तहमा इम्प्याक्ट ल्याउन समय लाग्ने र दिगो रुपान्तरणका लागि भुइँ तहमै सुशासन र कीफायतीपनको जग बसाल्न बौद्धिक वर्ग प्रतिबद्ध भएर लाग्नपर्ने बताए । स्याङ्जा स्टार्ट अप फेस्टिभल देश भरी नै मोफसलमा गरिएको स्टार्ट अप लक्षित पहिलो कार्यक्रम हुनेछ ।