आगामी मंंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्याङ्जावाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जना छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्दबहादुर रानाभाट, एकीकृत समाजवादीका विष्णु गिरी र स्वतन्त्र उम्मेदवार अर्जुनप्रकाश पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका मेखलाल श्रेष्ठ, प्रदेशसभा (२) मा एकीकृत समाजवादीकी शर्मिला पौडेल र मनोज नेपाली घर्ति रहेका छन् । घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने, बामगठबन्धनको तर्फवाट काँग्रेसका कुमार रानाले उम्मेदवारी दिए पनि पौडेलले पनि दिएकी थिइन् । पार्टी केन्द्रको निर्देशनमा उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
यस्तै, श्रेष्ठ गण्डकी प्रदेश सरकारका शिक्षामन्त्री हुन् । गठबन्धनको निर्णयले माओवादीकी अमृता थापामगरलाई उम्मेदवार बनाइएको भए पनि उनले उम्मेदवारी दर्ता गर्ने समयमा टिकटको पत्र देखाउदै दर्ता गराएका थिए । जिल्लास्थित गठबन्धनको वैठक र केन्द्रीय गठबन्धनको निर्णय अनुसार अमृतालाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका कपिलदेव न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
