स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन १४ वर्षपछि हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले चुनाव गराउने तयारी थालेको छ । विविका अनुसार आगामी फागुनमा चुनाव गराउने गरि तयारी थालेका छौ । शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ ।
२०६५ मा देशभरका त्रिवि क्याम्पसमा स्ववियु चुनाव भएको थियो । त्यसयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ मा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल म्याद थपपछि पनि सकिइसकेको छ । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक र निजी क्याम्पस छन् । २०७४ र २०७६ मा पनि स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगन गरिएको थियो ।
हरेक २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविको कार्यतालिका छ । तर २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि बिथोलिँदै आएको छ । यस प्रणालीमा २८ वर्ष पूरा नभएका मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिव, सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।
