गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडा सम्मानित भएकी छन् ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिम्खडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले सम्मान गरेको हाे ।
संविधानले दिएको जनताको मौलिक हक सुनिश्चित गरी जनतालाई सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा निशुल्क बेड व्यवस्थापन लगायतका उल्लेखनीय कार्य गरेकोमा कदरस्वरुप सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख छ ।
प्रसंशा पत्र प्रदान गदै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
उनले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए । सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको प्रमले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताए । मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे ।
‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्न सक्ने अवस्था भएन ।’
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सम्मानले आफूलाई झन् जिम्मेवार बनाएकाे बताईन् । सम्मान लिदाकाे क्षण खुशी मिले पनि थप उत्तरदायी बनाएकाे उनकाे भनाइ छ । उनले आगामी दिनमा पनि सामाजिक तथा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने थप कामका याेजना सुनाईन् ।