फागुपूर्णे अर्थात होलीमा दुई अर्वको रंग भित्रिएको छ । होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको बताइएको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ । फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को सात महिना (माघ) सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागु लक्षित हो ।
सात महिना अवधिमा सबैभन्दा धेरै रंग दक्षिण छिमेकी मुलुक भारतबाट आयात भएको छ । विभागका अनुसार भारतबाट साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको रंग भित्रिएको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै रंग आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत आवको सात महिनामा १ अर्ब ७६ करोड रुपैयाँको रंग भित्रिएको थियो ।
गत आवमा भने कुल ३ अर्ब ४८ करोड रुपैयाँको रंग भित्रिएको थियो । यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा ३ अर्ब १ करोड रुपैयाँको र २०७४÷७५ मा ३ अर्ब २७ करोडको रंग भित्रिएको विभागको तथ्यांक छ । यसबाहेक बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्ड, बेल्जियम, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, नेदरल्याण्ड, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीबाट समेत केही परिमाणमा रंग आयात भएको देखिन्छ । ती मुलुकहरूबाट नेपालीले होली खेल्न प्रयोग गर्ने रंग भित्रिने गरेको हो । यस्तै, पीचकारी र बेलुन भने चीनबाट भित्रिने विभागको भनाइ छ ।
