स्याङ्जाको वालिङ नगरपालिकाका १०८ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।
विभिन्न चरणमा वालिङ नगरपालिकाबाट बिनियोजन भएको ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका ईञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए । मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याईएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको छ ।
‘बोहोरीखोला मुलबाट २८० मिटर ‘भर्टिकल हाईट’ मा सोलारमार्फत पानी लिफ्टिङ गरिएको छ’ उनले भने, ‘३२० वाटका ३२ वटा सोलार प्यानलको प्रयोग गरी पानी तानिएको हो, सोलारको महशुल विद्युतकोभन्दा कम पर्ने देखिएको छ ।’
एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आएपनि निक्कै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फगिन्द्र थापाले बताए । ‘एक गाग्री पानीका लागि प्रत्येक घरले एकदेखि डेढघण्टा समय छुट्टयाउनुपथ्र्यो’ अध्यक्ष थापाले भने, ‘वालिङ नगरपालिकाको पहलमा अहिले गाउँका प्रत्येक घर–घरमा खानेपानीको धारा जडान गरेका छौं, पानीको निक्कै सहज भएको छ ।’
खोल्सा खोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने पानी बोक्दा बोक्दै थकाई लाग्ने अवस्था अब नरहने उनले बताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ । पानी खोल्न, बन्द गर्न तथा मर्मतकालागि दुई जना कर्मचारी राखिएको उनले बताए । ‘पानीको जोहो गर्नका लागि चिन्तित हुने यहाँका गाउँले अहिले घर–घरमा धारा जडान भएसँगै समयको वचत भएको छ’ थापाले भने, ‘पानीको जोहो गर्नमै ब्यस्त र चिन्तित हुनेहरु अहिले खुशी र हर्षित देखिएका छन् ।’
वालिङ नगरपालिकाले खानीपानीका समस्या भएका बस्तीहरुमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यसहित योजनाहरु अगाडि बढाएको छ । नगरपालिकाले आव २०७७÷७८ मा खानेपानीमा ५६ लाख ५५ हजार ५७४, आव २०७६÷७७ मा ८४ लाख ७० हजार ५६४, आव २०७५÷७६ मा दुई करोड ७ लाख ४ हजार ६८९ विनियोजन गरेको थियो । प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी संघ संस्थाहरुको पहलमा नगरका १४ वटै वडामा खानेपानीका योजनाहरु अगाडि बढाईरहेको छ ।
