संस्थागत (निजी) विद्यालयलाई कक्षा १० सम्म १० प्रतिशत छात्रबृत्ति अनिवार्यरुपमा उपलब्ध गराउन काठमाडौं नगरपालिकाले निर्देशन दिएको छ।
महानगरको शिक्षा विभागले विहीवार सूचना जारी गर्दै महानगरभित्र सञ्चालित सबै नीजि विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ।
यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४ सय ७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका महानगरपालिकाले जनाएको छ। तर, विवरण उपलब्ध गराउने विद्यालयको नमावली भने महानगरले सार्वजानिक गरेको छैन् ।
महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ।
‘‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयले काठमाडौँ महानगर शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलव्ध गराउनु पर्नेछ’ महानगरद्धारा जारी सूचनामा भनिएको छ, अन्यथा त्यस्ता विद्यालयलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगर्न र नगराउन साथै गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ।’