राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ५ वर्ष मुनी यू–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ ३० र ३१ गते पोखरा रंगशालामा हुनेछ । हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ ।
विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्र र छात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।
बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् ।
त्यसैगरी टेबुल टेनिसका लागि छात्र र छात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्र र छात्रा गरी ८ खेलाडी छनौट हुनेछन् । रग्वी छात्र र छात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ ।
परिषदले छनौट हुने कुल ७६ जना खेलाडीलाई २५ देखि २९ गतेसम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ । पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताका सवै खेल पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुने छन् ।
विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।