१८ वर्षसम्म जन्मदर्ता, न नागरिकता

Share this post :

Facebook
Twitter
WhatsApp

सरकार भन्छ, जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाउनुपर्छ । ममता यादव जन्मिएको १८ वर्ष पुग्यो । नागरिकताको प्रमाणपत्र पाउने र मतदाता नामावलीमा समेत समेटिने समयमा पनि उनी जन्मदर्ताबाटै बन्चित छन् ।

शारिरीकरुपमा अपाङ्गता भएकी ममताले सरकारबाट पाउने अपांग भत्ता पनि पाएकी छैनन् । ममताले दुवै खुट्टाले टेक्न सक्दिनन् । आमाको साहारा लिएर खाने, बस्ने, उठ्ने, सुत्ने र शौचालय जाने गर्छिन् । विद्यालय पनि उनी आमाकै साहाराले जाने आउने गरेकी छन् । यसो त, भुईँमा लडिन् भने उनी विना साहारा एक्लै उठ्न सक्दिनन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ अभियानपथ बस्दै आएकी ममता यादव सोही ठाउँमा रहेको त्रिभुवन आर्दश माध्यमिक विद्यालयको कक्षा ११ मा व्यवस्थापन विषय लिएर बढेकी छन् । ममताको रेखदेख आमा बिमला श्रेष्ठले गर्दै आएकी छन् । ‘नागरिकता बनाउने उमेर पुग्यो जन्मदर्ता बनाइदिन सकेकी छैन’ बिमला भन्छिन, ‘मेरो नागरिकता बसोबासको आधारमा ०७६ सालमा बनाएकी थिए । मेरो नागरिकता भए पनि मेरो नामबाट जन्मदर्ता नबन्दा धेरै दुःख पाएकी छु ।’ २०६० सालमा सिराहाका बहादुर यादवसंग बिवाह गरेकी बिमलाले ०६२ मा ममतालाई जन्म दिएकी थिइन् ।

‘सरकारले आमाको नामबाट छोराछोरीलाई नागरिकता दिन्छु भन्छ तर, मैले मेरी छोरीलाई जन्मदर्ता दिन सकिन’ विमला भन्छिन, ‘वडा कार्यालय र नगरपालिका धेरै धाए । धाउँदा धाउँदै १८ वर्ष पुगेछ । तर, न्याय कसैले दिएनन् ।’
बुवाको ठेगान नहुँदा नागरिक हुनबाटै बन्चित हुनुपरेको गुनासो ममताको छ । ममताले वुवाले आफ्नो सम्पर्कमा नभएको बताइन् । ‘म सानी हुँदा कहिलेकाँही फोन, म्यासेज हुन्थ्यो’ उनले भनिन, ‘बुवाले घरमा पहिलै विहे गर्नुभएको रहेछ । जव म बुझ्दै गए वुवा आफै सम्पर्कविहिन हुनुभयो ।’

ममताको दुवै खुट्टाको सानैमा अपरेशन गरेको हो । आमा विमलाका अनुसार टेक्न मिल्छ की भनेर आर्थिक संकलन गरेर अपरेशन गरियो तर, पछि पनि टेक्न सकिन् । उनले अरुको साहाराविना उभिन नसक्ने बताइन् । ‘बाउ नभएनी सपाङ्ग भए त गरेर खान्थी’ उनी भन्छिन, ‘अपांग छ कसरी जिन्दगी काट्न सक्ली ? साहारा कोही छैनन् । यदी म मरे भने यसको विकल्पै छैन् । कहिलेकाँही त मन विगरिदा छोरीलाई पनि विष खुवाइदिउ र म पनि खाइदिउँ जस्तो हुन्छ । र पनि फेरि समालिएकी छु ।’

विमला २०५६ देखी स्याङ्जा बस्दै आएकी हुन् । माइती गुल्मी तमघास भए पनि आफन्त कोही नभएको उनी बताउँछिन् । ०४९ मा काठमाडौका बद्रीनारायण श्रेष्ठसंग विहे गरेकी विमलाका ४ छोरी छन् । उनीहरु विहे गरेर टाढै रहेको विमला बताउँछिन् । अत्याधि मादक पदार्थ सेवनका कारण बद्रीनारायणको ०५९ मा मृत्यु भएपछि विमलाले ०६० मा यादवसंग विहे गरेकी हुन् । ‘बद्रीले पनि घर चिनाएन’ रुदै विमला भन्छिन, ‘कहिल्यै घर भनेर लगेन् । दुःख पाउँदा यादव भेटियो । खानेपानी कार्यालयमा करारको जागिर खान्थ्यो । म मजदुरी गर्थे । त्यही चिनजान भयो र विहे गरेका थियौ । त्यसपछि ममतालाई जन्माए ।’

सिराहा–१ गाछीगाउँ हो यादवको घर । ममताको जन्मदर्ता बनाउनको लागि प्रहरी, प्रशासनमार्फत पहल गर्दा पनि सहयोग नपाएको दुखेसो विमलाको छ । ‘यादवले घरमा पहिलै विहे गरेको रहेछ’ विमला भन्छिन, ‘मलाई झुक्याएर विहे गर्यो । पछि आफै तर्कियो । अहिले कहाँ छ ? भन्ने अत्तोपत्तो छैन् । मलाई उसको सम्पति चाहिएको होइन्, छोरीको लागि जन्मदर्ता र नागरिकता चाहिएको छ ।’ विमलाको परिवारलाई अहिले आर्थिक खाँचो छ । क्याम्पस पढाउनसमेत समस्या रहेको विमला बताउँछिन् । ‘विनापैसा क्याम्पसले भर्ना लिन मानेको थिएन’ उनले भनिन, ‘नचिनेको होइन, म पनि यही बस्दै आएकी छु । समस्या बुझ्नुभएकै छ । कसरी पढाउनुहुन्न ? भनेर प्रश्न गरेपछि छोरीले नियमित पढ्न पाएकी छ ।’ आर्थिक रुपमा उनले छोरी पढाउनसमेत आफूलाई गाह्रो भएको सुनाइन् ।

पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले विमला र ममता आफूसंग भेट नगरेको बताउदै भने, ‘आमाको नामबाट नागरिकता, जन्मदर्ता दिने हल्ला मात्र छ । व्यवहारमा लागू भएको छैन् ।’ उनले आमाको नामबाट जन्मदर्ता बनाउन कानुनीरुपमा नसकिने बताए । विमलाले २०७९ मंसीर २१ गते पति बहादुर यादवको खोजी पाउँ भनी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएकी थिइन् । प्रहरीले पनि खोजी नगरिदिएको विमला बताउँछिन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले आफूलाई यसविषयमा जानकारी नभएको बताए । ‘अफिस टाइममा म बुझ्छु’ उनले भने । पुतलीबजार वडा नम्बर १ का निर्वतमान वडाध्यक्ष निर्मलकुमार शेरचनले विमलाको लागि नागरिकता बनाउन पहल गरेपछि बनाइएको बताए । उनले छोरीको लागि जन्मदर्ता बनाउन कानुनीरुपमा नसकिएको बताए । ‘हामीले चाहेर मात्र बनाउन सकेनौ’ उनले भने, ‘कानुनले अहिले पनि आमाको नामबाट जन्मदर्ता र नागरिकता बनाउन दिएको छैन् ।’

२०७५ मा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पहिलोपटक निवेदन दिइएको थियो । बहादुर यादवको खोजीका लागि पहिलो निवेदन दिइएको थियो । जिल्ला प्रहरीले प्रदेश प्रहरी कार्यालय जनकपुरमा पत्राचार गरेको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन डीएसपी दान थापाले सिराह प्रहरी कार्यालयमा खोजीको लागि पत्राचार गरेको बताए ।

‘जिल्लाको एसपी साबले धेरै खोजी गर्नुभयो । प्रदेशबाट पनि चासोका साथ खोजी गरेउ तर, भेटाएनौ’ उनले भने, ‘सादा पोसाकमा प्रहरीलाई खोज्न पठायौ तर, अन्यत्रै बसाँइ सरेको खवर पायौ । त्यसपछि कहाँ गए भनेर पत्ता लगाउन सकिएन ।’ इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *