विभिन्न मुद्दामा जिल्ला अदालत कास्कीबाट फैसला भई सजाय भुक्तान नगरी फरार रहेका २७ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले साउन १ देखि ३२ गतेसम्म अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी २७ जनालाई पक्राउ गरी अदालत बुझाएको जनाएको छ । पक्राउ पर्नेमा पुरुष २२ र महिला ५ जना छन् । उनीहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र दुई लाख १० हजार ८ सय २५ रुपैयाँ जरिवाना असुल हुने जिल्ला प्रहरी प्रमुख मोहन थापाले जनाए ।
प्रहरीका अनुसार सवैभन्दा धेरै चेक अनादार मुद्दामा १३ जना प्रतिवादी रहेका छन् । यस्तै, लागूऔषध मुद्दामा ५, चोरीमा ३, केही सार्वजानिक अपराधमा २, आगो लगाएको सम्बन्धी मुद्दामा २ र लेनदेन विगो सम्बन्धी मुद्दामा २ जना रहेका छन् ।