२ लाख विधार्थी कक्षा ११ मा भर्ना हुन योग्य

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य रहेकाे बताएका छन् ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *